काठमाडौं । सम्पत्ति छानबिन आयोगमा पछिल्लो एक महिनाको अवधिमा ९ हजार ६ सयभन्दा बढी व्यक्तिले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् ।
आयोगका अनुसार पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वन्यायाधीश, सरकारी कर्मचारी तथा विभिन्न सार्वजनिक संस्थानका पदाधिकारीहरूले सम्पत्ति विवरण पेश गरेका हुन् ।
आयोगका प्रवक्ता गणेश केसीले प्रारम्भिक समयसीमाभित्र विवरण बुझाउन कठिनाइ भएको गुनासो आएपछि थप एक महिनाको समय दिइएको जानकारी दिए । आयोगमा हालसम्म अकुत सम्पत्ति आर्जनसँग सम्बन्धित पाँच सयभन्दा बढी उजुरी दर्ता भइसकेका छन् ।
आयोगले आर्थिक वर्ष २०६२/६३ देखि २०८२ चैत मसान्तसम्म पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन सम्पन्न गरेपछि दोस्रो चरणमा २०४८ सालदेखि नै विवरण संकलन र छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ ।