काठमाडौं । इरान–अमेरिका युद्ध अन्त्यका लागि सहमति भएपछि विश्वका सात विकसित औद्योगिक राष्ट्रहरूको समूह (जी–७) को ध्यान अब रुस–युक्रेन युद्ध अन्त्यतर्फ केन्द्रित भएको छ। फ्रान्सको एभियाँ सहरस्थित ‘एभियाँ ले बाँ’ रिसोर्टमा जारी जी–७ शिखर बैठकमा युक्रेन संकट, रुसमाथिको दबाब र विश्व ऊर्जा सुरक्षाबारे व्यापक छलफल भइरहेको छ।
बैठकमा सहभागी हुन पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छुट्टै भेटवार्ता गरेका छन्। चार वर्षदेखि जारी रुस–युक्रेन युद्धले युक्रेनका धेरै सहरहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ भने रुसी आक्रमण अझै निरन्तर जारी रहेको छ।
बैठकपछि एक फ्रान्सेली कूटनीतिज्ञले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै जी–७ राष्ट्रहरू रुसमाथि थप दबाब बढाउने विषयमा सहमत भएको जानकारी दिएका छन्। उनका अनुसार रुसको तेल र ग्यास क्षेत्रलाई लक्षित गर्दै थप आर्थिक प्रतिबन्ध लगाउने तयारी गरिएको छ।
युरोपेली देशहरूले अमेरिकी राष्ट्रपति ट्रम्पलाई रुसविरुद्ध थप कडा कदम चाल्न आग्रह गरेका छन्। ट्रम्पले पनि यसमा सकारात्मक संकेत दिएका छन्। पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उनले भने, “अवस्था निकै गम्भीर छ। म गर्न सक्ने सबै काम गर्नेछु।”
ट्रम्पले इरानसँग भएको सहमतिपछि होर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने र विश्व बजारमा तेल आपूर्ति सहज बन्ने विश्वास व्यक्त गरे। उनले तेल बजार स्थिर भएपछि रुसमाथि थप प्रतिबन्ध लगाउने वातावरण बन्ने संकेतसमेत दिएका छन्।
यसअघि विश्व बजारमा तेलको मूल्य अत्यधिक बढेपछि अमेरिकाले गत मार्चमा रुसी तेलमाथिका केही प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाएको थियो। त्यसपछि अमेरिका–इरान तनाव बढ्दै गएपछि उक्त छुटको अवधि लम्ब्याइएको थियो।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने आफ्नो देश शान्ति स्थापनाका लागि गम्भीर रहेको तर रुसले वार्तालाई समय बिताउने माध्यमका रूपमा प्रयोग गरिरहेको आरोप लगाए। उनले जी–७ का सबै सदस्य राष्ट्र युक्रेनको पक्षमा एकजुट रहेको बताएका छन्।
यसैबीच बेलायतले रुसविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेको छ। बेलायती प्रधानमन्त्री किएर स्टार्मरका अनुसार तरल प्राकृतिक ग्यास (एलएनजी) ढुवानी गर्ने ट्यांकरहरूलाई पनि प्रतिबन्धको दायरामा ल्याइएको छ। क्यानडाले पनि रुसमाथि थप आर्थिक प्रतिबन्ध घोषणा गरेको छ।
जी–७ बैठकमा इरानको मुद्दा पनि प्राथमिकतामा
रुस–युक्रेन युद्धसँगै इरानको विषय पनि जी–७ बैठकको प्रमुख एजेन्डा बनेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका–इरानबीच भएको सम्झौताको पूर्ण दस्तावेज चाँडै सार्वजनिक गरिने बताएका छन्।
दुई देशबीच भएको सहमतिमा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर गर्ने तयारी भइरहेको जनाइएको छ। ट्रम्पले अमेरिकाको मुख्य उद्देश्य इरानलाई परमाणु हतियार विकास गर्न नदिने रहेको स्पष्ट पारेका छन्।
उता, इरानले परमाणु कार्यक्रम र आर्थिक प्रतिबन्ध हटाउने विषयमा यसै साताको अन्त्यदेखि थप वार्ता सुरु हुन सक्ने जनाएको छ। सम्झौतामा यी विषयलाई ६० दिनभित्र टुंग्याउने लक्ष्य राखिएको बताइएको छ।
जी–७ समूहमा अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, इटाली, जापान र क्यानडा सदस्य राष्ट्रका रूपमा छन्। यसपटक ब्राजिल, भारत, इजिप्ट, केन्या, दक्षिण कोरिया, कतार, युक्रेन र संयुक्त अरब इमिरेट्सलाई पाहुना राष्ट्रका रूपमा आमन्त्रण गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि बैठकमा सहभागी हुन फ्रान्स पुगेका छन्।