काठमाडौं । बंगालको खाडीमा विकसित "अर्णव" चक्रवातको प्रभाव नेपालमा पनि पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अहिले शक्तिशाली देखिए पनि बिहीबारसम्म नेपाल आइपुग्दा केही कमजोर हुन सक्ने महाशाखाको अनुमान छ ।
मंगलबार बिहान आगामी पाँच दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै महाशाखाले चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राखेर सतर्कता अपनाउन आग्रह गरेको हो । मौसमविद् विभुति पोखरेलका अनुसार मंगलबार र बुधबार नेपालको मौसम मुख्यतया सफा रहनेछ ।
‘अर्णव’ चक्रवात अहिले बंगालको खाडी क्षेत्रमा रहेको र बुधबार भारतको विशाखापट्टनम हुँदै जमिनमा प्रवेश गर्ने अनुमान गरिएको पोखरेलले बताइन् । त्यसपछि चक्रवात उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै नेपालतिर आउने सम्भावना रहेको उनले जानकारी दिइन् ।
नेपाल प्रवेश गर्दा चक्रवातको शक्ति केही कमजोर हुने अनुमान गरिए पनि यसको सम्भावित मार्ग नेपालतर्फ देखिएकाले सावधानी आवश्यक रहेको मौसमविद् पोखरेलले बताइन् । उनका अनुसार बिहीबार, शुक्रबार र शनिबार विशेष सतर्कता अपनाउनुपर्नेछ ।
चक्रवातको प्रभावले नेपालका धेरै स्थानमा हल्कादेखि केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातसमेत हुन सक्ने भएकाले ती क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
विशेषगरी हिमाली क्षेत्रमा पदयात्रामा गएका पर्यटक तथा पदयात्रीलाई मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्नुपर्ने देखिएको छ । तराईको तुलनामा उच्च पहाडी र हिमाली भूभागमा चक्रवातको सम्भावित प्रभावबाट बढी सतर्क रहनुपर्ने मौसमविद् पोखरेलले बताइन् ।
यसैबीच, धान भित्र्याउने समयमा वर्षा हुन सक्ने भएकाले किसानलाई पनि सावधानी अपनाउन आग्रह गरिएको छ । मध्यम खालको वर्षाले समेत काटेर राखिएको धानमा क्षति पुर्याउन सक्ने भएकाले बिहीबारअघि नै पाकेको धान काटेर सुरक्षित रूपमा भित्र्याउन मौसमविद्ले सुझाव दिएका छन् । धान काट्ने तयारीमा रहेका किसानलाई भने केही दिन पर्खन आग्रह गरिएको छ ।