साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह, अनावश्यक बाहिर ननिस्कन निर्देशन

एक घण्टा अगाडि
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह, अनावश्यक बाहिर ननिस्कन निर्देशन

काठमाडौं । साउदी अरेबियामा सुरक्षा अवस्था संवेदनशील बन्दै गएको भन्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले आवश्यक कामबाहेक घरबाहिर ननिस्कनसमेत अनुरोध गरेको छ ।

दूतावासले सूचना जारी गर्दै सुरक्षा चेतावनी जारी भएका क्षेत्र तथा समयमा विशेष सावधानी अपनाउन र सम्बन्धित आधिकारिक निकायका निर्देशन मात्रै पालना गर्न नेपाली नागरिकलाई आग्रह गरेको हो ।

त्यस्तै, सामाजिक सञ्जालमा भ्रामक, अपुष्ट वा उत्तेजक तस्बिर तथा भिडियो पोस्ट नगर्न र त्यस्ता सामग्री सेयर नगर्न पनि दूतावासले सचेत गराएको छ । सुरक्षा अवस्थाबारे आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्रै विश्वास गर्नुपर्नेमा दूतावासले जोड दिएको छ ।

हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई आफ्नो उडानको तालिका परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्रै यात्रामा निस्कन आग्रह गरिएको छ । सुरक्षा अवस्थाका कारण उडान प्रभावित हुन सक्ने भएकाले यात्रा गर्नुअघि आवश्यक जानकारी लिन दूतावासले सुझाव दिएको हो ।

कुनै समस्या वा आपत्कालीन अवस्था आइपरेमा नेपाली नागरिकले रियादस्थित नेपाली राजदूतावास तथा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न सक्नेछन् । त्यसका लागि दुवै नियोगका आधिकारिक फोन नम्बर तथा इमेलमार्फत सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

साउदी अरेबियामा करिब चार लाख नेपाली श्रमिक कार्यरत रहेको अनुमान छ । रोजगारीका लागि प्रत्येक वर्ष नेपालबाट करिब ९० हजार नेपाली साउदी जाने गरेको बताइन्छ । ठूलो संख्यामा नेपाली श्रमिक रहेको मुलुकमा सुरक्षा अवस्था संवेदनशील बन्दा उनीहरूको सुरक्षा र रोजगारीसम्बन्धी अवस्थाबारे चासो बढेको छ ।

दूतावासले नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन, आधिकारिक सूचनाको पालना गर्न र आपत्कालीन अवस्थामा सम्बन्धित नेपाली नियोगसँग सम्पर्कमा रहन आग्रह गरेको छ ।