कुरिनटारमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते, पृथ्वी राजमार्ग अवरुद्ध

४९ मिनेट अगाडि
कुरिनटारमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीस्थित पृथ्वी राजमार्गमा बस, ट्रक र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

मंगलबार बिहान पौने ९ बजे तीनवटा सवारीसाधन एकै ठाउँमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौंँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस संलग्न थिए ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले तीनवटा सवारीसाधन आपसमा ठोक्किएको जानकारी दिएका छन् ।

दुर्घटनापछि उद्धार तथा राहतका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली घटनास्थलमा खटिएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ ।

दुर्घटनाका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा उक्त मार्ग भएर आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । दुर्घटनाको थप विवरण तथा सडक खुलाउने प्रयासबारे भने थप जानकारी आउन बाँकी छ ।