आजदेखि एनपीएल सुरु हुँदै, प्रधानमन्त्री बालेनले गर्नेछन् उद्घाटन

२० घण्टा अगाडि
आजदेखि एनपीएल सुरु हुँदै, प्रधानमन्त्री बालेनले गर्नेछन् उद्घाटन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आज (सोमबार) देखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

प्रधानमन्त्री शाहले सोमबार बिहान सामाजिक सञ्जालमार्फत एनपीएलको शुभारम्भका अवसरमा शुभकामना दिएका छन् । उनले केही वर्षमै एनपीएल नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् ।

‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ,’ उनले लेखेका छन्, ‘केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ । लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ । नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना । नेपाली क्रिकेट अमर रहोस्।’

सोमबार साँझ ५ बजे त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्नेछन् । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

रोहित पौडेलको कप्तानीमा लुम्बिनी र दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम मैदानमा उत्रनेछन् । आजदेखि सुरु हुने प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

एनपीएलमा नेपाली खेलाडीसँगै अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता रहनेछ । प्रतियोगिताले नेपाली क्रिकेटको प्रवर्द्धन, खेल पर्यटनको विकास तथा घरेलु खेलकुदमा दर्शकको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।