काठमाडौं । पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको छ । यसले क्रमशः तीव्र रूप लिँदै सोमबारसम्म चक्रवातको रूप लिन सक्ने नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार शुक्रबार बिहान ५ः४५ बजे बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको हो । उक्त प्रणाली बलियो हुँदै कात्तिक ९ गते सोमबार चक्रवातमा परिणत हुने अनुमान गरिएको छ ।
चक्रवात पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट हुँदै जमिनमा प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
यस मौसम प्रणालीको प्रभावले कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिएको छ ।
यद्यपि, यस प्रणालीका कारण नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र त्यसले कस्तो असर पार्न सक्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने विभागले स्पष्ट पारेको छ ।
सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन विभागले अनुरोध गरेको छ ।
मौसम प्रणालीको अवस्था र त्यसबाट नेपालमा पर्न सक्ने प्रभावबारे थप विवरण प्राप्त हुँदै जाँदा आवश्यक जानकारी सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।