काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आज पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दसैँका बेला सर्वसाधारणको सहज आवागमन तथा यातायात सुविधालाई ध्यानमा राख्दै प्रहरीले उपत्यकाका तीनवटा रुटमा बस सेवा सञ्चालन गर्न लागेको हो।
प्रहरीका अनुसार निःशुल्क बस सेवा आज दुई सिफ्टमा सञ्चालन हुनेछ। पहिलो सिफ्ट बिहान ८ बजे र दोस्रो सिफ्ट दिउँसो ३:३० बजेबाट सुरु हुनेछ।
नेपाल प्रहरीले बस सञ्चालन गर्ने तीन रुट
रुट नम्बर १: नक्सालबाट सुरु हुने यो रुट बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल पुग्नेछ।
रुट नम्बर २: नक्सालबाट सुरु भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै पुनः नक्साल फर्किनेछ।
रुट नम्बर ३: नक्सालबाट सुरु हुने यो रुट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगञ्ज हुँदै पुनः नक्साल पुग्नेछ।
दसैँको समयमा सार्वजनिक यातायातमा हुने चापलाई मध्यनजर गर्दै प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट उपत्यकाका विभिन्न स्थानमा आवतजावत गर्ने सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ।