काठमाडौं । दसैँको टीकासम्म देशभरको मौसम मुख्यतया सफा तथा घमाइलो रहने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन।
महाशाखाका अनुसार हाल कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा पनि आंशिक बादल देखिएको छ। देशका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ।
हाल वर्षा तथा हिमपातको गतिविधि खासै नरहेको र आगामी तीन दिनसम्म पनि मौसममा ठूलो परिवर्तन नआउने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् सिर्जना गिरीका अनुसार दसैँको टीकाको दिन कात्तिक ४ गतेसम्म समग्रमा देशभरको मौसम घमाइलो रहने पूर्वानुमान छ।
दसैँको टीकाको अघिल्लो दिन मंगलबार अर्थात् कात्तिक ३ गते दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा पनि आंशिक बादल लाग्ने सम्भावना छ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा देशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
मंगलबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने सम्भावना छ। देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। यस्तै, तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान गरिएको छ।
समग्रमा दसैँको टीकासम्म मौसम अनुकूल रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले यात्रा गर्नेहरूले स्थानीय मौसम पूर्वानुमानमा ध्यान दिनु उपयुक्त हुनेछ।