काठमाडौं । बडादसैँ अर्थात् विजयादशमी पर्व आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । दसैँको मुख्य दिन आज मान्यजनको हातबाट दुर्गा भवानीको प्रसादस्वरूप रातो टीका, जमरा तथा आशीर्वाद ग्रहण गरिँदै छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार टीका लगाउन साइत खोज्नेहरूका लागि आज बिहान १०ः२६ बजेको समय उत्तम रहेको छ । यद्यपि, विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन अनिवार्य रूपमा साइत कुर्नु नपर्ने समितिले जनाएको छ । राज्य सञ्चालकहरूले भने शुभ साइतमै टीका लगाउने धार्मिक मान्यता छ ।
दसैँ घर तथा पूजा कोठामा घटस्थापनादेखि नौ दिनसम्म विधिपूर्वक पूजा आराधना गरी राखिएको जमरा र दुर्गा भवानीको प्रसाद आज मान्यजनबाट ग्रहण गरिन्छ । यस अवसरमा गुरु, पुरोहित, हजुरबा–हजुरआमा, बुबा–आमा तथा अन्य मान्यजनबाट टीका र जमरा लगाई सुख, शान्ति, समृद्धि, दीर्घायु तथा सफलताको आशीर्वाद लिने परम्परा छ ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट वैदिक विधिअनुसार अभिषेक गरी विजयादशमीको टीका लगाउने धार्मिक प्रचलन छ । पहेँलो जमरालाई समृद्धि र शुभताको प्रतीकका रूपमा लिइन्छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा विजयादशमी मनाइन्छ । धार्मिक विश्वासअनुसार त्रेता युगमा भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनको स्मरणमा यो पर्व मनाउन थालिएको हो ।
आज टीका लगाउन नभ्याउनेहरूले पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्न सक्ने धार्मिक परम्परा रहेको छ । दसैँको यस अवसरमा परिवारका सदस्य, आफन्त तथा इष्टमित्रबीच भेटघाट, शुभकामना आदानप्रदान र आशीर्वाद लिने क्रम जारी छ ।
बडादसैँले पारिवारिक एकता, आपसी सद्भाव र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिन्छ ।