काठमाडौं । नेपालका अधिकांश सरकारी वेबसाइट अस्थायी रूपमा बन्द भएका छन् । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, मौसमसम्बन्धी निकाय तथा स्थानीय तहका वेबसाइटहरू खुल्न नसकेका हुन् ।
इन्टरनेटमा वेबसाइट सञ्चालनका लागि व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा दुईवटा गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि सरकारी वेबसाइटहरू प्रभावित भएका हुन् ।
साइबर सुरक्षा निकायले सम्बन्धित सरकारी तथा अन्य संस्थाहरूलाई पीएचपीको सुरक्षा अपडेट तत्काल लागू गर्न आग्रह गरेका छन् । तत्काल सुरक्षा अपडेट गर्न नसक्ने संस्थालाई जोखिम न्यूनीकरणका लागि आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द राख्न सुझाव दिइएको छ ।
यसअघि नै उक्त कमजोरी समाधान गर्न सुरक्षा अपडेट जारी गरिएको थियो । तर, समयमै अपडेट लागू गर्न नसकेका संस्थाहरूलाई सम्भावित साइबर आक्रमणबाट जोगिन वेबसाइट अस्थायी रूपमा बन्द गर्न भनिएको थियो ।
साइबर सुरक्षा कम्पनी विजले यी कमजोरीलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहायताबाट पत्ता लागेका अहिलेसम्मकै गम्भीर साइबर सुरक्षा कमजोरीमध्येका रूपमा उल्लेख गरेको छ ।
सुरक्षा जोखिमका कारण सरकारी वेबसाइटहरू बन्द गरिएपछि नागरिकले सरकारी सूचना तथा अनलाइन सेवामा पहुँच पाउन समस्या भोग्नुपरेको छ । यद्यपि, वेबसाइटहरू कहिलेसम्म बन्द रहने र सबै सेवा कहिले पुनः सञ्चालनमा आउने भन्नेबारे उपलब्ध विवरणमा स्पष्ट जानकारी छैन ।