फ्रान्समा प्रदर्शनमा प्रतिबन्ध, ट्रम्पको आरोपप्रति म्याक्रोनको आपत्ति

एक दिन अगाडि
फ्रान्समा प्रदर्शनमा प्रतिबन्ध, ट्रम्पको आरोपप्रति म्याक्रोनको आपत्ति

काठमाडौं । फ्रान्सको राजधानी पेरिसका प्रमुख संवेदनशील तथा पर्यटकीय क्षेत्रमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। थप हिंसा र अशान्ति फैलिन सक्ने आशंकामा पेरिस प्रहरीले बिहीबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म विभिन्न क्षेत्रमा भेला तथा प्रदर्शन गर्न रोक लगाएको हो।

प्रहरीका अनुसार एलिसे राष्ट्रपतीय भवन, बास्टिल स्क्वायर, संसद्का दुवै सदन, लुभ्र संग्रहालय र च्याम्प्स–एलिसे क्षेत्रमा प्रतिबन्ध लागू गरिएको छ।

गत सातान्तमा देशका विभिन्न स्थानमा फैलिएको हिंसा र लुटपाटपछि फ्रान्सेली अधिकारीहरूले सुरक्षा व्यवस्था कडा पारेका छन्। महँगी नियन्त्रण तथा शिक्षा सुधारको माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलन उग्र बनेपछि नकाबधारी प्रदर्शनकारीले पसलमा लुटपाट गर्नुका साथै प्रहरीसँग हिंसात्मक झडप गरेका थिए।

सोमबार फ्रान्सका गृहमन्त्री लोरेन्ट नुनेजले परिस्थिति नियन्त्रणबाहिर गएको स्वीकार गर्दै हिंसाले भयावह रूप लिएको बताएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्समा जारी अशान्तिका लागि आप्रवासी, जिहादी र कम्युनिस्टहरूलाई जिम्मेवार ठहर गरेका छन्। उनले उनीहरूमाथि फ्रान्स कब्जा गरेको, लुटपाट मच्चाएको र देशलाई ध्वस्त पारेको आरोप लगाएका छन्।

ट्रम्पले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई आप्रवासनका विषयमा पहिले नै सचेत गराएको दाबी गर्दै सीमा बन्द गर्न अस्वीकार गरेको आरोपसमेत लगाएका थिए।

यद्यपि, फ्रान्सका सहरहरूमा पछिल्ला दुई रात तुलनात्मक रूपमा शान्त रहे पनि हिंसाका क्रममा जलेका सवारीसाधन, फुटेका पसलका सिसा र लुटिएका भवनका तस्बिरले म्याक्रोन सरकारमाथि राजनीतिक दबाब बढाएको बताइएको छ।

कतार भ्रमणका क्रममा बुधबार फ्रान्सेली राष्ट्रपति म्याक्रोनले ट्रम्प र सम्भवतः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले फ्रान्सको अशान्तिलाई राजनीतिक लाभका लागि प्रयोग गर्न खोजेको आरोप लगाए।

यसअघि नेतान्याहूले पनि फ्रान्समा ‘उग्रवादी इस्लामको आक्रमण’ भएको टिप्पणी गरेका थिए।

सञ्चारकर्मीसँग कुरा गर्दै म्याक्रोनले फ्रान्सको आन्तरिक संकटलाई चुनावी प्रचारको विषय बनाउने नेताहरूको आलोचना गरे। मध्यपूर्वका होऊन् वा अमेरिकाका, उनीहरू आफ्ना चुनावी स्वार्थबाट प्रेरित रहेको उनको भनाइ थियो।

आफ्नो टिप्पणी ट्रम्पप्रति लक्षित हो कि भन्ने प्रश्नमा म्याक्रोनले भने, “अन्यका साथै उहाँप्रति पनि हो।”

म्याक्रोनले फ्रान्सको संकटबारे गलत तथा भ्रामक सूचना फैलाइएको आरोप लगाएका छन्। उनका अनुसार, वास्तविकतामा नभएका घटनाका तस्बिरसमेत कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको छ।

यस्ता सामग्रीका आधारमा विदेशी नेतासहित विभिन्न व्यक्तिले अनुचित टिप्पणी गरेको उनको भनाइ थियो।

“हामीमाथि आप्रवासी र इस्लामवादीहरूको जत्थाले आक्रमण गरेको दाबी गर्ने मानिसहरू देखा परेका छन्, जुन पूर्ण रूपमा झूटो र निराधार हो,” म्याक्रोनले भने।

फ्रान्समा जारी अशान्तिले सुरक्षा व्यवस्थासँगै आप्रवासन, राजनीतिक ध्रुवीकरण र गलत सूचनाको विषयलाई पनि अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।