काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली भूभाग तथा कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।
विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै, आज राति कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ । देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । यसले बिहानको समयमा सडक तथा यातायातमा सामान्य प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।