काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज (आइतबार) हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आइतबार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुने पूर्वानुमान छ । देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्नेछ । बिहानको समयमा हुस्सु र कुहिरोका कारण जनजीवन तथा सडक यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।