रास्वपा धनुषाका सभापतिमाथि एसपी खड्काको आपत्ति, आरोप प्रमाणित गर्न चुनौती

२ घण्टा अगाडि
रास्वपा धनुषाका सभापतिमाथि एसपी खड्काको आपत्ति, आरोप प्रमाणित गर्न चुनौती

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रूपेश खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका जिल्ला सभापति लक्ष्मेश्वर यादवले आफू र प्रहरी संगठनको प्रतिष्ठामा आँच पुग्ने गरी भ्रामक तथा तथ्यहीन आरोप लगाएको भन्दै कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।

एसपी खड्काले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यादवको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका हुन् । सोमबार धनुषामा आयोजित एक कार्यक्रममा यादवले खड्कालाई ‘एक नम्बरको भ्रष्टाचारी’, ‘घुसखोरी’ र ‘दलाल’ भन्दै आलोचना गरेका थिए ।

यादवले लगाएका आरोप प्रमाणित गर्न चुनौती दिँदै एसपी खड्काले तथ्य र प्रमाणबिना आफ्नो व्यक्तिगत मर्यादा तथा प्रहरी संगठनको प्रतिष्ठामा आँच पुर्‍याउने काम नगर्न आग्रह गरेका छन् । आरोप प्रमाणित गर्न नसके कानुनी उपचार खोज्ने उनको चेतावनी छ ।

महिला हराएको निवेदनदेखि विवाद

एसपी खड्काले जारी गरेको विज्ञप्तिअनुसार यादवले गत भदौ १७ गते परिवारकी एक महिला सदस्य हराएको भन्दै खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए । तर, अनुसन्धानका क्रममा ती महिला हराएको नभई काठमाडौं जिल्ला अदालतबाट २०८३ वैशाख ८ गते नै विवाहको नाता कायम भएको र भदौ १४ गते आफ्ना पतिसँग गएको खुलेको विज्ञप्तिमा उल्लेख छ ।

खड्काका अनुसार यादवले महिलाको मञ्जुरीबिना विवाह भएको दाबी गर्दै उनलाई र उनका पतिलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिन प्रहरीमाथि दबाब दिएका थिए । मागअनुसार काम नगरे हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्कीसमेत यादवले दिएको खड्काको दाबी छ ।

गैरकानुनी काम गर्न अस्वीकार गरेपछि प्रतिशोधस्वरूप आफूमाथि आरोप लगाइएको खड्काले बताएका छन् ।

‘गैरकानुनी कार्य गर्न अस्वीकार गरेपछि प्रतिशोधस्वरूप मविरुद्ध अनर्गल र तथ्यहीन आरोप लगाइएको स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

खड्काले आफूविरुद्ध लगाइएका आरोपलाई मनगढन्ते र द्वेषपूर्ण भन्दै त्यसको भर्त्सना गरेका छन् । उनले कसैको प्रतिष्ठामा आँच पुग्ने सामग्री तथ्य र प्रमाणबिना प्रकाशन तथा प्रसारण नगर्न पनि आग्रह गरेका छन् ।

यादवले लगाएका आरोप र एसपी खड्काले विज्ञप्तिमार्फत प्रस्तुत गरेका दाबीबारे स्वतन्त्र पुष्टि भने आवश्यक छ ।