अमेरिका–इरान तनाव कायमै, ट्रम्पद्वारा युद्धविराम अवधि थप गर्ने घोषणा

एक महिना अगाडि
अमेरिका–इरान तनाव कायमै, ट्रम्पद्वारा युद्धविराम अवधि थप गर्ने घोषणा

काठमाडौं । अमेरिका र इरानबीचको बढ्दो तनावकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन्।

दुवै देशबीच भइरहेको वार्तामा स्पष्ट प्रगति नभएसम्मका लागि युद्धविराम कायम राखिने उनले बताएका हुन्। ट्रम्पले इरानले स्पष्ट र एकीकृत प्रस्ताव पेश नगरेसम्म इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी जारी रहने स्पष्ट पारेका छन्।

यसअघि युद्धविरामको म्याद सकिन लागेकाले वार्ताको भविष्य अन्योलमा परेको थियो। तर पछिल्लो निर्णयसँगै तत्काल युद्ध सुरु हुने सम्भावना केही समयका लागि टरेको विश्लेषण गरिएको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सेना उच्च सतर्क अवस्थामा राखिएको र आवश्यक परे तत्काल कारबाही गर्न तयार रहन निर्देशन दिएको बताएका छन्।

यसैबीच तेहरानले थप वार्तामा अनिच्छा देखाइरहेका बेला ह्वाइट हाउस ले उपराष्ट्रपति जेडी भान्स को इस्लामाबाद भ्रमण स्थगित गरेको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले युद्धविराम अवधि थप गरिएकोमा स्वागत गर्दै दुवै पक्षले संयम अपनाउने विश्वास व्यक्त गरेका छन्। उनले वार्तामार्फत स्थायी समाधान खोज्न आफ्नो देशले पहल जारी राख्ने बताएका छन्।

यता इरानले भने आगामी वार्तामा सहभागी हुने वा नहुने विषयमा अझै निर्णय नगरेको जनाएको छ, जसका कारण आगामी कूटनीतिक प्रक्रिया अनिश्चित बनेको छ।

विश्लेषकहरूका अनुसार वार्ता सफल नभए क्षेत्रीय तनाव थप चर्किने र यसको प्रभाव विश्व अर्थतन्त्रमा समेत पर्न सक्ने सम्भावना रहेको छ।