काठमाडौँ । इरानसँग बढ्दो तनावका बीच अमेरिकाका नौसेना प्रमुख जोन फेलनले पदबाट राजीनामा दिने भएका छन्।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता सिन पर्नेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अब नौसेनाका उपसचिव हङ काओले कार्यवाहक जिम्मेवारी सम्हाल्ने बताएका छन्।
पछिल्ला महिनाहरूमा अमेरिकी सैन्य नेतृत्वमा भइरहेको फेरबदलको श्रृंखलामा फेलनको राजीनामा पनि थपिएको छ। यसअघि रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख र्यान्डी जर्ज लाई राजीनामा दिन निर्देशन दिएका थिए। साथै जनरल डेभिड होडने र मेजर जनरल विलियम ग्रिन लाई पनि पदबाट हटाइएको थियो।
हेगसेथले पेन्टागन सम्हालेपछि नौसेना अपरेसन प्रमुख र वायुसेनाका उपप्रमुखसहित दर्जनभन्दा बढी उच्च सैन्य अधिकारीहरूलाई हटाइसकेका छन्।
फेलनलाई सन् २०२४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले नियुक्त गरेका थिए भने उनले मार्च २०२५ देखि पद सम्हालेका थिए। उनी सैन्य पृष्ठभूमिबिना उक्त पदमा पुग्ने विरलैमध्येका व्यक्ति मानिन्छन्।
उनका सम्भावित उत्तराधिकारी काओ सन् २०२५ अक्टोबरदेखि उपसचिवका रूपमा कार्यरत छन् र उनी करिब २५ वर्षदेखि नौसेनामा सेवा गर्दै आएका छन्।
यता, पाकिस्तानमा इरानसँग दोस्रो चरणको वार्ता हुने चर्चा चलिरहेका बेला यो राजीनामा आएको हो। राष्ट्रपति ट्रम्पले आगामी शुक्रबारसम्म इरानसँग वार्ता हुन सक्ने संकेत गरेका छन्।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग वार्ता सकारात्मक कदम भएको बताए पनि धम्कीपूर्ण अभिव्यक्तिले प्रक्रिया प्रभावित भइरहेको उल्लेख गरेका छन्।