काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्वभित्र दरार आएको दाबी गरेपछि इरानी उच्च नेतृत्वले त्यसलाई अस्वीकार गर्दै देश एकताबद्ध रहेको स्पष्ट पारेको छ।
इरानका राष्ट्रपति मसूद पेजेश्कियान, विदेशमन्त्री अब्बास अराघची र संसदका सभामुख मोहम्मद बागेर गालिबाफले संयुक्त रूपमा वक्तव्य जारी गर्दै बाह्य दाबीहरू निराधार रहेको बताएका हुन्।
राष्ट्रपति पेजेश्कियान र सभामुख गालिबाफले सामाजिक सञ्जालमार्फत एउटै सन्देश साझा गर्दै राष्ट्रिय एकता बलियो रहेको उल्लेख गरेका छन्। उनीहरूले “इरानमा कुनै विभाजन नभई सबै नागरिक राष्ट्र र क्रान्तिप्रति प्रतिबद्ध छन्” भन्दै बाह्य दबाब र आक्रमणविरुद्ध कडा जवाफ दिने चेतावनीसमेत दिएका छन्।
यसैबीच, प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पनि देशभित्रको राजनीतिक विविधतालाई लोकतन्त्रको विशेषता भन्दै संकटको समयमा सबै एकै ध्वजामुनि उभिने बताएका छन्।
उता, इरानका सर्वोच्च नेतासँग सम्बन्धित विषयमा पनि विभिन्न अड्कलबाजी भइरहेका छन्। फेब्रुअरी २८ मा भएको अमेरिकी–इजरायली आक्रमणमा मारिएका भनिएका अली खामेनीपछि उनका उत्तराधिकारीका रूपमा हेरिएका मोज्तफा खामेनी सार्वजनिक रूपमा देखा परेका छैनन्।
अमेरिकी पक्षले मोज्तफा खामेनी गम्भीर घाइते भएको दाबी गरिरहँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम The New York Timesले भने उनी गम्भीर रूपमा घाइते भए पनि मानसिक रूपमा सक्षम रहेको इरानी अधिकारीहरूको भनाइ उद्धृत गरेको छ।
यी घटनाक्रमबीच इरानले आन्तरिक रूपमा एकता कायम रहेको सन्देश दिँदै बाह्य टिप्पणीहरूको प्रतिवाद गरिरहेको देखिएको छ।