काठमाडौं । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले आफ्नो एक युद्धपोतले इरानी बन्दरगाहतर्फ जाँदै गरेको इरानको झण्डाधारी जहाजलाई अवरोध गरेको जनाएको छ।
सेन्टकमका अनुसार गाइडेड मिसाइल विनाशक यूएसएस राफेल पेराल्टाले अप्रिल २४ मा उक्त जहाजलाई रोकेको हो। यससम्बन्धी तस्बिरसमेत सार्वजनिक गरिएको छ।
अमेरिकाले इरानी बन्दरगाहमा लगाएको नाकाबन्दीका क्रममा हालसम्म ३४ जहाजलाई मार्ग परिवर्तन गराइएको पनि सेन्टकमले जनाएको छ। इरान र अमेरिकाबीच भएको प्रारम्भिक वार्ता निष्कर्षमा नपुगेपछि अमेरिकी पक्षले यस्तो कदम चालेको बताइएको छ।
इरानले भने अमेरिकी नाकाबन्दीको कडा विरोध गर्दै यसलाई युद्धविरामको उल्लंघनको रूपमा व्याख्या गरेको छ। साथै, उसले होर्मुज जलडमरु मध्य बन्द गर्ने चेतावनीसमेत दिएको छ, जसले अन्तर्राष्ट्रिय समुद्री व्यापारमा थप प्रभाव पार्न सक्ने देखिएको छ।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघची पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन्। उनी नेतृत्वको प्रतिनिधिमण्डलले त्यहाँका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।
भेटवार्तामा मध्यपूर्व क्षेत्रको पछिल्लो सुरक्षा अवस्था, क्षेत्रीय शान्ति तथा स्थायित्वका विषयमा छलफल हुने बताइएको छ। यद्यपि, इरान र अमेरिकाबीच प्रत्यक्ष वार्ताको कुनै औपचारिक योजना नरहेको इरानी पक्षले स्पष्ट पारेको छ।