रूस भ्रमणमा इरानी विदेशमन्त्री, पुटिनसँग भेटवार्ता हुने

एक महिना अगाडि
रूस भ्रमणमा इरानी विदेशमन्त्री, पुटिनसँग भेटवार्ता हुने

काठमाडौं । अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका उनी सोमबार बिहान सेन्ट पिटर्सबर्ग अवतरण गरेका हुन्। विमानस्थलमा रूसी अधिकारीहरूले उनको औपचारिक स्वागत गरेका थिए, जसको दृश्य इरानी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्।

भ्रमणका क्रममा उनले भ्लादिमिर पुटिन सँग भेट गर्ने कार्यक्रम रहेको छ। इरानका लागि रूसी राजदूत काजेम जलाली ले उक्त भेट निश्चित भएको जानकारी दिएका छन्। भेटमा क्षेत्रीय सुरक्षा अवस्था, युद्धका पछिल्ला घटनाक्रम तथा दुई देशबीचको सहकार्यका विषयमा छलफल हुने जनाइएको छ।

सेन्ट पिटर्सबर्ग पुगेपछि अराग्चीले सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै इरान र रूस बीचको रणनीतिक समन्वयलाई निरन्तरता दिन भ्रमण गरिएको बताएका छन्।

यसअघि अराग्ची इस्लामावाद मा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ सहित उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। त्यसपछि उनी मस्कट पुगेका थिए, जहाँ उनले हैथम बिन तारिक सँग क्षेत्रीय अवस्थाबारे छलफल गरेका थिए।

मस्कटमा भएको भेटमा अराग्चीले अमेरिकी सैन्य उपस्थितिले मध्यपूर्वमा असुरक्षा र विभाजन बढाएको आरोप लगाएका थिए। उनले दीर्घकालीन स्थायित्वका लागि क्षेत्रीय मुलुकहरूले आफ्नै सुरक्षा संयन्त्र विकास गर्नुपर्ने धारणा राखेका थिए।

ओमानबाट पुनः इस्लामावाद फर्किएपछि अराग्ची त्यहीँबाट रूस प्रस्थान गरेका हुन्। उनको यो भ्रमणलाई क्षेत्रीय शक्ति सन्तुलन र कूटनीतिक सक्रियतासँग जोडेर हेरिएको छ।