काठमाडौँ । इरान र अमेरिका बीच बढ्दो तनावका बीच इरानी विदेशमन्त्री अब्बास अराघचीले पछिल्लो ४८ घण्टामा तेस्रोपटक पाकिस्तान भ्रमण गरेका छन्। उनको यो लगातारको इस्लामाबाद यात्रा क्षेत्रीय कूटनीतिमा पाकिस्तानको सक्रिय मध्यस्थ भूमिका बढेको संकेतका रूपमा हेरिएको छ।
रुस भ्रमण सकेर फर्किएका अराघचीले सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सँग करिब डेढ घण्टा लामो भेटवार्ता गरेका थिए। वार्तामा द्विपक्षीय सम्बन्ध, मध्यपूर्वको सुरक्षा अवस्था तथा इरान माथि अमेरिका र इजरायल द्वारा गरिएको दबाबबारे छलफल भएको बताइएको छ।
भेटपछि अराघचीले रुसलाई ‘विश्वसनीय साझेदार’को रूपमा उल्लेख गर्दै संकटका बेला मस्कोको समर्थनप्रति आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा सैन्य र कूटनीतिक सहकार्य थप सुदृढ बनाउने समझदारी भएको संकेत दिए।
इरानी सरकारी स्रोतहरूका अनुसार पुटिनले मध्यपूर्वमा शान्ति स्थापना गर्न रुसले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। साथै, क्षेत्रीय स्थिरता छिट्टै फर्किने विश्वास पनि व्यक्त गरेका छन्।
यता ह्वाइट हाउसले इरानले पठाएको ‘तीनबुँदे प्रस्ताव’बारे छलफल भइरहेको पुष्टि गरेको छ। प्रस्तावमा होर्मुज जलडमरूमध्य खुला गर्ने, युद्धविराम गर्ने र परमाणु वार्तालाई अगाडि बढाउने विषय समावेश रहेको जनाइएको छ।
ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिट का अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग यस विषयमा छलफल गरिसकेका छन् र चाँडै थप जानकारी सार्वजनिक गर्ने तयारीमा छन्।
समग्रमा, तीव्र कूटनीतिक गतिविधिहरूले इरान–अमेरिका तनाव कम गर्ने प्रयास तीव्र बन्दै गएको संकेत दिएका छन्।