काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको १४ बुँदे शान्ति प्रस्ताव पूर्ण रूपमा अस्वीकार गरेका छन्। उक्त प्रस्तावलाई युद्धविरामलाई दीर्घकालीन बनाउँदै कूटनीतिक समाधानतर्फ लैजाने प्रयासका रूपमा हेरिएको भए पनि ट्रम्पले यसलाई आफ्नो अपेक्षाअनुसार नभएको बताएका हुन्।
इजरायली सञ्चारमाध्यम क्यान न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले प्रस्तावको विस्तृत अध्ययन गरेपछि पनि आफू सन्तुष्ट हुन नसकेको स्पष्ट पारे। “यो मेरा लागि स्वीकार्य छैन, मैले सबै पढेँ तर यसलाई स्वीकार गर्न सकिँदैन,” उनले भने।
त्यस्तै द टाइम्स अफ इजरायलका अनुसार उनले इरान सम्झौता गर्न इच्छुक देखिए पनि प्रस्तावका केही बुँदामा आफू सहमत हुन नसक्ने बताएका छन्।
ट्रम्पको यो अभिव्यक्तिले इरानप्रतिको उनको कडा दृष्टिकोण अझ स्पष्ट भएको विश्लेषण गरिएको छ। उनले सामाजिक सञ्जालमार्फत विगत दशकौँदेखि इरानले अन्तर्राष्ट्रिय समुदायप्रति देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै अझै पर्याप्त जवाफदेहिता नदेखिएको आरोप लगाएका छन्।
इरानले प्रस्तुत गरेको १४ बुँदे प्रस्ताव केवल अस्थायी युद्धविराममा सीमित नभई पूर्ण रूपमा युद्ध अन्त्य गर्ने उद्देश्यमा केन्द्रित रहेको बताइएको छ। प्रस्तावअनुसार ३० दिनभित्र सबै प्रमुख विवाद समाधान गरिनुपर्ने उल्लेख छ।
मुख्य मागहरूमा अमेरिका र उसका सहयोगीहरूबाट भविष्यमा आक्रमण नहुने ग्यारेन्टी, क्षेत्रबाट अमेरिकी सेना फिर्ता, रोक्का गरिएको अर्बौँ डलर बराबरको सम्पत्ति फिर्ता, आर्थिक प्रतिबन्ध पूर्ण रूपमा हटाइनुपर्ने, युद्ध क्षतिको क्षतिपूर्ति, क्षेत्रीय द्वन्द्व अन्त्यजस्ता विषय समावेश छन्।
त्यसैगरी होर्मुज जलडमरूमध्यको सुरक्षा व्यवस्थापनका लागि नयाँ संयन्त्र र इरानलाई आफ्नो परमाणु कार्यक्रम जारी राख्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने माग पनि प्रस्तावमा राखिएको छ।
ट्रम्पले कूटनीतिक वार्ता असफल भए भविष्यमा सैन्य कारबाही हुन सक्ने सम्भावनालाई पनि नकारेका छैनन्। इरानले कुनै ‘गलत कदम’ चालेमा प्रतिक्रिया स्वरूप आक्रमण हुन सक्ने संकेत दिँदै उनले परिस्थिति थप जटिल बन्न सक्ने चेतावनी दिएका छन्।
यस घटनाक्रमले मध्यपूर्वमा शान्ति प्रक्रिया थप अनिश्चित बन्ने संकेत दिएको छ भने अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक समाधानतर्फ पहल बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।