काठमाडौं । संयुक्त अरब इमिरेट्सको प्रमुख तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ। यूएईको सबैभन्दा ठूलो तेल भण्डारण केन्द्र मानिने फुजैराहमा भएको आगलागीमा कम्तीमा तीन जना घाइते भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम BBCका अनुसार उक्त आगलागी इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रका कारण भएको यूएईले आरोप लगाएको छ। घटनाअघि तीनवटा इरानी क्षेप्यास्त्रलाई आफ्नो सुरक्षा प्रणालीले ध्वस्त पारेको दाबी पनि यूएईले गरेको छ।
यस घटनापछि यूएईले कडा प्रतिक्रिया जनाउँदै प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ। यूएईले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार आफ्नो आत्मरक्षाको अधिकार प्रयोग गर्ने उल्लेख गरिएको छ।
यता इरानले भने यस आरोपबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। घटनाले मध्यपूर्व क्षेत्रमा तनाव थप बढ्ने संकेत देखिएको छ।
आगलागीपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ। बीबीसीका अनुसार तेलको मूल्य प्रति ब्यारेल ११५ डलरसम्म पुगेको छ। विज्ञहरूले यस्तो घटनाले विश्व ऊर्जा बजारमा अस्थिरता बढाउन सक्ने बताएका छन्।