मध्यपूर्व तनाव

अमेरिका–इरानबीच युद्ध अन्त्यको सहमतिनजिक, १४ बुँदे समझदारीको तयारी

४ हप्ता अगाडि
अमेरिका–इरानबीच युद्ध अन्त्यको सहमतिनजिक, १४ बुँदे समझदारीको तयारी

काठमाडौं । अमेरिका र इरानबीच जारी तनाव र युद्धको अवस्था अन्त्य गर्न महत्वपूर्ण कूटनीतिक सहमति हुने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुवै देश १४ बुँदे समझदारीमा सहमतिनजिक पुगेका छन् । आगामी ४८ घण्टाभित्र यसबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ ।

सम्भावित समझदारीअनुसार इरानले अस्थायी रूपमा आफ्नो आणविक सम्वर्द्धन कार्यक्रम रोक्ने प्रतिबद्धता जनाउनेछ । त्यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका केही आर्थिक प्रतिबन्ध खुकुलो बनाउने तथा रोक्का गरिएका अर्बौं डलर बराबरका सम्पत्ति फुकुवा गर्ने तयारी गरेको बताइएको छ । साथै, होर्मुज जलमार्गमा जहाज आवागमनमाथि लगाइएका अवरोध हटाउने विषय पनि समझदारीमा समेटिएको जनाइएको छ ।

सम्झौताअन्तर्गत प्रारम्भिक रूपमा ३० दिनको वार्ता अवधि तय गरिनेछ । यही अवधिमा दुवै पक्षबीच विस्तृत छलफल हुने बताइएको छ । यदि वार्ता निष्कर्षमा पुग्न नसके अमेरिकाले पुनः आर्थिक नाकाबन्दी वा सैन्य कदम चाल्न सक्ने सर्त पनि प्रस्ताव गरिएको समाचारमा उल्लेख छ ।

वार्तामा अमेरिकी प्रतिनिधिका रूपमा स्टिभ विट्कोफ र जारेड कुशनर सहभागी रहेको जनाइएको छ । इरानी पक्षबाट उच्च अधिकारीहरू संलग्न छन् भने पाकिस्तान ले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको बताइएको छ । गत महिना पाकिस्तानमै शान्ति वार्ता आयोजना गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले होर्मुज जलमार्गको सुरक्षाका लागि सञ्चालन गरिएको ‘प्रोजेक्ट फ्रिडम’ नामक नौसैनिक अभियान अस्थायी रूपमा रोक्ने निर्णय गरेका छन् । यसलाई वार्तामा सकारात्मक प्रगतिको संकेतका रूपमा हेरिएको छ ।

बुधबार मात्रै होर्मुज क्षेत्रमा एक फ्रान्सेली मालवाहक जहाजमाथि आक्रमण हुँदा चालक दलका केही सदस्य घाइते भएका थिए । फेब्रुअरीयता सो जलमार्ग तनावका कारण प्रभावित बन्दै आएको छ ।

सम्झौताको सम्भावनापछि अन्तर्राष्ट्रिय बजारमा पनि सकारात्मक प्रभाव देखिएको छ । कच्चा तेलको मूल्य करिब आठ प्रतिशतले घटेको छ भने विश्वका प्रमुख सेयर बजारमा वृद्धि देखिएको जनाइएको छ ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघची ले तेहरान न्यायसंगत र दीर्घकालीन समझदारीको पक्षमा रहेको बताएका छन् ।