कोलकाता । पश्चिम बंगालको नयाँ मुख्यमन्त्रीमा शुभेन्दु अधिकारी चयन भएका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीले उनलाई विधानमण्डल दलको नेता चयन गरेसँगै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
शुभेन्दु अधिकारीले भवानीपुर निर्वाचन क्षेत्रमा ममता बनर्जी लाई पराजित गरेका थिए । उनी पश्चिम बंगालमा भाजपाबाट मुख्यमन्त्री बन्ने पहिलो नेता हुनेछन् ।
पार्टीका पर्यवेक्षकका रूपमा कोलकाता पुगेका केन्द्रीय गृहमन्त्री अमित शाहले शुभेन्दुको नाम औपचारिक रूपमा घोषणा गरेका हुन् । उनले शुभेन्दुको पक्षमा आठवटा प्रस्ताव आएको र अन्य कुनै नाम नआएको जानकारी दिए ।
हालै सम्पन्न विधानसभा निर्वाचनमा भाजपाले २९४ मध्ये २०७ सिट जित्दै अखिल भारतीय तृणमूल कांग्रेसको १५ वर्ष लामो शासन अन्त्य गरेको थियो । पश्चिम बंगालमा पहिलो पटक हिन्दू राष्ट्रवादी दल सत्तामा पुगेको बताइएको छ ।
शुभेन्दु अधिकारीले शनिबार कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा मुख्यमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ । उनी यसअघि ममता बनर्जीका निकट सहयोगी थिए । उनले सन् २०२० डिसेम्बरमा तृणमूल कांग्रेस छोडेर भाजपामा प्रवेश गरेका थिए । त्यसपछि नन्दीग्राम निर्वाचन क्षेत्रमा ममता बनर्जीलाई पराजित गरेर चर्चामा आएका थिए ।
मुख्यमन्त्री चयनपछि अमित शाहले भारतीय राष्ट्रिय कांग्रेसमाथि पनि कटाक्ष गरेका छन् । उनले कांग्रेसले चुनाव हारको समीक्षा गर्नुको सट्टा निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठाउने गरेको आरोप लगाए ।
उनले कांग्रेस नेता राहुल गान्धीले कहिले विद्युतीय मतदान मेसिन, कहिले मतदाता नामावली र कहिले निर्वाचन प्रक्रियामाथि शंका व्यक्त गर्दै आएको टिप्पणी गरे । साथै, तमिलनाडु र पश्चिम बंगालमा लामो समयदेखि कांग्रेस सत्तामा आउन नसकेको उदाहरण दिँदै उनले त्यसलाई पनि “भोट चोरी” भन्न मिल्छ कि भनेर प्रश्न गरेका थिए ।