बेलायत । बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । जित रानाभाट र उनकी पत्नी गौमाया गुरुङ लन्डनको रोयल ग्रीनविच बरोअन्तर्गत फरक–फरक वार्डबाट काउन्सिलर निर्वाचित भएका छन् ।
पूर्वमेयरसमेत रहेका जित रानाभाट ‘प्लमस्टेड एन्ड ग्लिन्डन’ वार्डबाट १ हजार ६ सय १० मत प्राप्त गर्दै विजयी भएका हुन् । उक्त वार्डका तीनवटै सिट लेबर पार्टीले जितेको छ । सोही वार्डबाट टमी अहेदो र अडेल खैरा पनि निर्वाचित भएका छन् ।
यस्तै, गौमाया गुरुङ ‘एबिउड’ वार्डबाट १ हजार २ सय ९२ मतसहित पहिलोपटक काउन्सिलर निर्वाचित भएकी हुन् । उक्त वार्डका सबै सिट पनि लेबर पार्टीकै पक्षमा गएको छ । रानाभाट दम्पती दुवै लेबर पार्टीबाट उम्मेदवार बनेका थिए ।
उता, अल्डरसटस्थित रश्मोर बरोको म्यानोर पार्क वार्डबाट जीवनारायण बेल्वासे दोस्रो पटक काउन्सिलर निर्वाचित भएका छन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार बेल्वासेले ८ सय ९१ मत प्राप्त गरेका हुन् । सोही बरोको वेलिङटन वार्डबाट पूर्वगोर्खा उत्तरबहादुर गुरुङ ५ सय ५१ मतसहित निर्वाचित भएका छन् ।
त्यसैगरी, रेडिङ बरोको ब्याटल वार्डबाट प्रतिक्षा गुरुङ १ हजार १ सय ८० मतसहित विजयी भएकी छन् । उनी रेडिङ बरोमा निर्वाचित हुने पहिलो नेपालीमूलकी काउन्सिलर बनेकी छन् ।
लन्डन बरो अफ बार्नेटको एड्जवेरबरी वार्डबाट लक्ष्य गुरुङ तेस्रो पटक काउन्सिलर निर्वाचित भएका छन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार उनले १ हजार ९ सय ५१ मत प्राप्त गरेका हुन् ।
बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा करिब डेढ दर्जन नेपालीमूलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । यसैबीच, निर्वाचनमा सत्तारुढ लेबर पार्टीलाई ठूलो झड्का लागेको छ । शुक्रबार मध्यरातिसम्म सार्वजनिक नतिजाअनुसार रिफर्म युकेले सबैभन्दा धेरै १ हजार ४ सय ४३ काउन्सिलर सिट जितेको छ ।
दोस्रो स्थानमा रहेको लेबर पार्टीले ९ सय ५९, लिबरल डेमोक्र्याट्सले ८ सय ३४, कन्जरभेटिभ पार्टीले ७ सय ७३, ग्रीन पार्टीले ५ सय ११ तथा अन्य दलले २ सय ४४ सिट जितेका छन् ।
यसअघि प्राप्त सिटको तुलनामा लेबर पार्टीले करिब १ हजार ३ सय ९५ सिट गुमाएको बताइएको छ । अधिकांश सिट नाइजल फराज नेतृत्वको रिफर्म युकेले आफ्नो पक्षमा पारेको छ ।