भारतको नयाँ चिफ अफ डिफेन्स स्टाफमा राजा सुब्रमणि नियुक्त

३ हप्ता अगाडि
भारतको नयाँ चिफ अफ डिफेन्स स्टाफमा राजा सुब्रमणि नियुक्त

काठमाडौं । भारत सरकारले लेफ्टिनेन्ट जनरल एनएस राजा सुब्रमणिलाई नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त गरेको छ । उनले हालका सीडीएस अनिल चौहानको स्थान लिनेछन् । चौहानको कार्यकाल मे ३० मा समाप्त हुँदैछ ।

लेफ्टिनेन्ट जनरल राजा सुब्रमणि हाल राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सैन्य सल्लाहकारको रूपमा कार्यरत छन् । उनले सन् २०२५ सेप्टेम्बर १ देखि उक्त जिम्मेवारी सम्हाल्दै आएका छन् ।

यसअघि उनले १ जुलाई २०२४ देखि ३१ जुलाई २०२५ सम्म भारतीय सेनाको उपप्रमुखका रूपमा काम गरेका थिए । साथै, मार्च २०२३ देखि जुन २०२४ सम्म केन्द्रीय कमान्डको जनरल अफिसर कमान्डिङ–इन–चीफको जिम्मेवारी पनि सम्हालेका थिए ।

डिसेम्बर १९८५ मा गढ़वाल राइफल्समा कमिसन प्राप्त गरेका सुब्रमणिको भारतीय सेनामा ३७ वर्षभन्दा लामो अनुभव रहेको छ । उनले विभिन्न संघर्षग्रस्त क्षेत्र तथा दुर्गम भूभागमा सेवा दिएका छन् । विशेषगरी चीन–पाकिस्तान सीमाक्षेत्रमा काम गरेको उनको व्यापक अनुभव रहेको बताइएको छ ।

शिक्षा र तालिम

सुब्रमणि नेशनल डिफेन्स एकेडेमी र भारतीय सैन्य एकेडेमीका स्नातक हुन् । उनले ज्वाइन्ट सर्विसेज कमाण्ड एण्ड स्टाफ कलेज तथा नेशनल डिफेन्स कलेजमा समेत उच्च सैन्य तालिम प्राप्त गरेका छन् ।

उनले किङ्स कलेज लन्डनबाट मास्टर अफ आर्ट्स (एमए) उपाधि तथा मद्रास विश्वविद्यालय बाट रक्षा अध्ययनमा एमफिल हासिल गरेका छन् ।

सम्मान तथा पुरस्कार

भारतीय सेनामा लामो सेवाका क्रममा सुब्रमणि विभिन्न प्रतिष्ठित सम्मानबाट विभूषित भइसकेका छन् । उनले प्राप्त गरेका प्रमुख सम्मानहरूमा परम विशिष्ट सेवा पदक, अति विशिष्ट सेवा पदक, सेना पदक तथा विशिष्ट सेवा पदक रहेका छन् ।