युक्रेन युद्ध अन्त्यतिर पुगेको पुटिनको संकेत

३ हप्ता अगाडि
युक्रेन युद्ध अन्त्यतिर पुगेको पुटिनको संकेत

काठमाडौं । भ्लादिमिर पुटिनले रुस-युक्रेन युद्ध चाँडै अन्त्य हुनसक्ने संकेत गरेका छन् । रुसको 'विजय दिवस' परेडपछि शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले युद्ध अब अन्त्यतिर पुगेको जस्तो आफूलाई लागेको बताएका हुन् ।

युक्रेनलाई पश्चिमा मुलुकहरूले दिइरहेको सहयोगबारे सोधिएको प्रश्नमा पुटिनले रुससँगको टकराव अनावश्यक रूपमा बढाइएको टिप्पणी गरे । उनले यसले गम्भीर अवस्था सिर्जना गरेको भए पनि अब परिस्थितिले अन्त्यतर्फ संकेत गरिरहेको बताए ।

रुस र युक्रेनबीच तीनदिने युद्धविराम जारी रहेका बेला पुटिनको यो अभिव्यक्ति आएको हो । दोस्रो विश्वयुद्धमा सोभियत संघले नाजी जर्मनीमाथि विजय हासिल गरेको सम्झनामा रुसले हरेक वर्ष ‘विजय दिवस’ मनाउने गर्दछ । यस वर्षको परेडमा रुस निकट मुलुकका नेताहरू मात्र सहभागी भएका थिए भने झन्डै दुई दशकपछि पहिलोपटक कुनै सैन्य हतियार प्रदर्शन गरिएको थिएन ।

युद्धविरामको घोषणा शुक्रबार डोनाल्ड ट्रम्प ले अमेरिकी मध्यस्थतामा भएको वार्तापछि गरेका थिए ।

यसैबीच, युरोपेली संघका तर्फबाट अध्यक्ष एन्टोनियो कोस्टाले उपयुक्त समयमा रुस र युक्रेनसँग छुट्टाछुट्टै वार्ताका लागि युरोपेली संघ तयार रहेको बताएका थिए ।

पत्रकार सम्मेलनमा पुटिनलाई सम्भावित मध्यस्थकर्ताबारे सोधिएको प्रश्नमा उनले जर्मनीका पूर्वचान्सलर गेरहार्ड श्रोडरको नाम लिए । श्रोडरलाई पुटिनका निकट पश्चिमा सहयोगी तथा व्यक्तिगत मित्रका रूपमा चिनिन्छ ।

पुटिनले युरोपेली संघमाथि द्वन्द्वलाई थप चर्काउने प्रयास गरेको आरोपसमेत लगाए । उनले युरोपेली मुलुकलाई चेतावनी दिँदै यस्तो नीति महँगो साबित हुन सक्ने बताए ।

यस हप्ताको अमेरिकी नेतृत्वको शान्ति प्रयासअन्तर्गत दुवै पक्षले ठूलो संख्यामा युद्धबन्दी आदानप्रदान गर्न सहमति जनाएको उल्लेख गर्दै पुटिनले त्यसबारे युक्रेनबाट अझै औपचारिक प्रतिक्रिया नआएको दाबी गरे ।

उनले आफू भोलोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष शान्तिवार्ताका लागि तयार रहेको पनि बताए । तर, स्थायी शान्ति सम्झौताको स्पष्ट आधार बनेपछि मात्रै त्यस्तो वार्ता सम्भव हुने उनको भनाइ थियो ।

पुटिनले इरानसँग सम्बन्धित क्षेत्रीय तनावबारे पनि टिप्पणी गर्दै युद्ध चाँडै अन्त्य नभए सबै पक्षले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् ।