ट्रम्पद्वारा इरानको युद्ध अन्त्य प्रस्ताव अस्वीकार

३ हप्ता अगाडि
ट्रम्पद्वारा इरानको युद्ध अन्त्य प्रस्ताव अस्वीकार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्यसम्बन्धी प्रस्ताव अस्वीकार गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत प्रतिक्रिया दिँदै इरानका प्रतिनिधिबाट आएको प्रस्ताव आफूले अध्ययन गरेको र उक्त योजना पूर्ण रूपमा अस्वीकार्य रहेको बताएका हुन् ।

यसअघि इरानले पाकिस्तानको मध्यस्थतामार्फत अमेरिकालाई नयाँ प्रस्ताव पठाएको थियो । प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने तथा तेहरानमाथि लगाइएका आर्थिक र व्यापारिक प्रतिबन्ध हटाउनुपर्ने माग गरिएको बताइएको छ ।

‘वाल स्ट्रिट जर्नल’का अनुसार इरानले आफ्नो आणविक कार्यक्रम तथा युरेनियम भण्डारणसम्बन्धी अमेरिकी माग स्वीकार गरेको छैन ।

उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानसँगको युद्ध अझै समाप्त नभएको बताएका छन् । उनले अमेरिका र इजरायलको मुख्य उद्देश्य इरानको आणविक कार्यक्रम अन्त्य गर्नु रहेको स्पष्ट पारेका छन् ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार तेहरानले पठाएको प्रस्तावमा इरानी तेलमाथिको अमेरिकी प्रतिबन्ध कम्तीमा ३० दिनका लागि हटाउनुपर्ने माग गरिएको थियो । साथै, इरानी बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने विषय पनि प्रस्तावमा समावेश गरिएको थियो ।