मध्यपूर्व तनाव

होर्मुज जलमार्गलाई ५०० किलोमिटर सैन्य क्षेत्र घोषणा, इरानको कडा चेतावनी

३ हप्ता अगाडि
होर्मुज जलमार्गलाई ५०० किलोमिटर सैन्य क्षेत्र घोषणा, इरानको कडा चेतावनी

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले होर्मुज जलमार्गलाई पहिलेभन्दा धेरै ठूलो सैन्य तथा अपरेसनल क्षेत्रका रूपमा पुनः परिभाषित गरेको जनाएको छ ।

आईआरजीसीका अनुसार अब यो क्षेत्र साँघुरो समुद्री मार्गमा सीमित नरही करिब ५०० किलोमिटरसम्म फैलिएको व्यापक सैन्य क्षेत्र बनेको छ । यसलाई इरानको नयाँ नौसैनिक रणनीतिको महत्वपूर्ण हिस्सा मानिएको छ ।

आईआरजीसी नौसेनाका राजनीतिक उपप्रमुख मोहम्मद अकबरजादेहले तस्निम समाचार एजेन्सीसँग कुरा गर्दै पहिले होर्मुज जलमार्गलाई होर्मुज र हेन्ग्यामजस्ता साना टापु आसपासको सीमित क्षेत्रका रूपमा बुझिने गरिएको बताए । तर अहिले त्यो अवधारणा पूर्ण रूपमा परिवर्तन भएको उनको भनाइ छ ।

उनका अनुसार नयाँ रणनीतिअनुसार यो क्षेत्र जास्क र सिरिकदेखि केस्म टापु तथा ग्रेटर टुम्बसम्म फैलिएको विशाल सैन्य कोरिडोरमा रूपान्तरण गरिएको छ ।

आईआरजीसीले यसअघि २० देखि ३० माइलसम्म सीमित मानिएको क्षेत्रलाई विस्तार गरेर करिब ५०० किलोमिटरसम्म पुर्‍याइएको जनाएको छ । यसलाई ‘अर्धचन्द्राकार’ रणनीतिक संरचनाका रूपमा व्याख्या गरिएको छ, जसले समुद्री निगरानी र नियन्त्रण क्षमतालाई अझ बलियो बनाउने दाबी गरिएको छ ।

अकबरजादेहले इरान आफ्नो समुद्री सीमा र राष्ट्रिय स्वार्थको रक्षा गर्न पूर्ण रूपमा तयार रहेको भन्दै कुनै पनि प्रकारको घुसपैठ सहन नसकिने चेतावनी दिए ।

“हामी आफ्नो एक इन्च जमिनको रक्षाका लागि रगत बगाउन तयार छौँ, तर त्यसलाई छाड्ने छैनौँ,” उनले भने ।

आईआरजीसीले होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजका लागि नयाँ नियम लागू गरिने पनि स्पष्ट पारेको छ । इरानले तोकेको मार्गलाई मात्र सुरक्षित मानिने र नियम उल्लंघन गर्ने जहाजमाथि कडा कारबाही गरिने चेतावनी दिइएको छ ।