अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच बिहीबार चीनको राजधानी बेइजिङमा उच्चस्तरीय भेटवार्ता भएको छ।
बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा आयोजित स्वागत समारोहमा सीले ट्रम्पलाई औपचारिक स्वागत गर्दै गार्ड अफ अनर प्रदान गरेका थिए। त्यसपछि दुई नेताबीच द्विपक्षीय वार्ता सुरु भएको हो।
भेटका क्रममा सीले अमेरिका–चीन सम्बन्ध विश्व स्थिरता र आर्थिक सन्तुलनका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रतिस्पर्धाभन्दा सहकार्यमा जोड दिए। उनले दुई देशले प्रतिद्वन्द्वीको रूपमा नभई साझेदारका रूपमा अघि बढ्नुपर्ने धारणा राखे।
जवाफमा ट्रम्पले सीसँगको सम्बन्ध सकारात्मक रहेको बताउँदै आपसी सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे। उनले अमेरिकी व्यापारिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूलाई समेत भ्रमण टोलीमा समावेश गरिएको जानकारी दिए।
ट्रम्पको प्रतिनिधिमण्डलमा इलोन मस्क, टिम कुक लगायत अमेरिकी व्यवसायिक क्षेत्रका प्रमुख व्यक्तिहरू सहभागी छन्।
वार्तामा व्यापार, भन्सार शुल्क, अर्धचालक प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), दुर्लभ खनिज स्रोत र ताइवान सम्बन्धी विषयमा छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ।