काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले इरानलाई सैन्य सहयोग नगर्ने प्रतिबद्धता जनाएको दाबी गरेका छन् ।
बेइजिङमा भएको भेटवार्तापछि अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले चीनले अमेरिका–इरान तनावका क्रममा इरानलाई सैन्य सामग्री उपलब्ध नगराउने आश्वासन दिएको बताएका हुन् ।
उनका अनुसार सी चिनफिङले स्ट्रेट अफ हर्मुज खुला राख्न पनि सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । विश्व व्यापार तथा तेल आपूर्तिका लागि महत्वपूर्ण मानिने उक्त सामुद्रिक मार्ग अवरुद्ध हुन नदिन चीन सकारात्मक रहेको ट्रम्पको भनाइ थियो ।
फक्स न्यूजको कार्यक्रममा बोल्दै ट्रम्पले आवश्यक परे चीन सहकार्यका लागि तयार रहेको सन्देश सी चिनफिङले दिएको उल्लेख गरे।
तीन दिने चीन भ्रमणका क्रममा दुई नेताबीच क्षेत्रीय सुरक्षा, व्यापार र मध्यपूर्वको अवस्थाबारे छलफल भएको जनाइएको छ। भ्रमण पूरा गरेर ट्रम्प आज अमेरिका फर्किने कार्यक्रम रहेको छ।