इरानको परमाणु कार्यक्रमबारे ट्रम्पको नयाँ संदेश, चीनबाट फर्किएपछि के भने ?

२ हप्ता अगाडि
इरानको परमाणु कार्यक्रमबारे ट्रम्पको नयाँ संदेश, चीनबाट फर्किएपछि के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो परमाणु कार्यक्रम २० वर्षका लागि निलम्बन गरे त्यो स्वीकार्य हुन सक्ने बताएका छन्। इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा अन्त्य हुनुपर्ने आफ्नो पुरानो अडानभन्दा ट्रम्प केही नरम देखिएको विश्लेषण गरिएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भएको भेटवार्तापछि राष्ट्रपति विमान एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका र चीन दुवै इरानलाई आणविक हतियार बनाउन नदिनुपर्ने पक्षमा रहेको बताए। उनले इरानले अवरुद्ध गरेको होर्मुज जलमार्ग तत्काल खुलाउनुपर्नेमा पनि जोड दिए।

इरानद्वारा गरिएको नाकाबन्दीका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढिरहेको छ। यही विषयमा प्रतिक्रिया दिँदै ट्रम्पले इरानको परमाणु कार्यक्रम रोक्न बलियो र विश्वसनीय ग्यारेन्टी आवश्यक पर्ने बताए।

पत्रकारहरूले २० वर्षका लागि मात्र कार्यक्रम रोक्नु पर्याप्त नहुने प्रश्न गरेपछि ट्रम्पले “२० वर्ष पर्याप्त हुन सक्छ, तर त्यो वास्तविक र विश्वसनीय हुनुपर्छ” भन्ने प्रतिक्रिया दिएका थिए। यद्यपि, उनले त्यसबारे थप स्पष्ट योजना भने सार्वजनिक गरेका छैनन्।

यसअघि ट्रम्पले इरानलाई युरेनियम प्रवर्द्धन स्थायी रूपमा बन्द गर्न दबाब दिँदै आएका थिए। अमेरिकाले इरानलाई कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नदिने नीति लिएको बताउँदै आएको थियो। तर पछिल्लो अभिव्यक्तिले सीमित अवधिको सहमतितर्फ अमेरिका लचिलो बन्न सक्ने संकेत देखिएको छ।

यसैबीच, इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ताको प्रयास जारी रहे पनि ठोस सहमति हुन सकेको छैन। दुवै पक्षले प्रस्तुत गरेका पछिल्ला प्रस्ताव अस्वीकार भएपछि वार्ता अझै अनिश्चित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले सबै मोर्चामा तत्काल युद्ध अन्त्य गर्ने, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने र भविष्यमा इरानमाथि थप आक्रमण नहुने ग्यारेन्टीको प्रस्ताव अघि सारेको थियो।

यसै वर्ष फेब्रुअरी २८ मा अमेरिकी र इजरायली सेनाले इरानमाथि संयुक्त हवाई हमला सुरु गरेका थिए। त्यसपछि सुरु भएको तनावबीच गत महिनादेखि युद्धविराम लागू गरिएको भए पनि बीचबीचमा छिटफुट आक्रमण भइरहेका छन्। पाकिस्तानले दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको बताइएको छ।

यता इजरायलले ट्रम्पको पछिल्लो भनाइबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानको प्रवर्द्धित युरेनियम भण्डार पूर्ण रूपमा नष्ट नभएसम्म युद्ध अन्त्य भएको मान्न नसकिने धारणा दोहोर्याउँदै आएका छन्।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१५ मा ओबामा प्रशासनले इरानसँग गरेको परमाणु सम्झौताबाट अमेरिकालाई अलग गरेका थिए। उक्त सम्झौतामा रहेका समयसीमासम्बन्धी प्रावधानप्रति असहमति जनाउँदै उनले त्यसबेला सम्झौता कमजोर रहेको बताएका थिए।