काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा सैन्य कमान्डरसँग उभिएको एउटा तस्बिर सार्वजनिक गरेपछि इरानमाथि पुनः आक्रमण हुनसक्ने चर्चा चुलिएको छ।
ट्रम्पले पोस्ट गरेको तस्बिरमा उनी युद्धपोतको डेकमा देखिन्छन्। वरिपरि आँधीबेहरीको वातावरण झल्किने दृश्य राखिएको छ भने जहाजमा इस्लामिक गणतन्त्र इरानको झन्डासमेत देखाइएको छ। तस्बिरसँगै उनले “यो आँधी आउनुअघिको शान्ति हो” भन्ने सन्देश लेखेका छन्।
यो पोस्ट अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिका र इजरायलले इरानविरुद्ध थप सैन्य कारबाहीको तयारी गरिरहेको दाबी गरेपछि सार्वजनिक भएको हो। विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टअनुसार अमेरिकी रक्षा मन्त्रालयले सम्भावित आक्रमणका विभिन्न विकल्पमाथि छलफल गरिरहेको बताइएको छ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आवश्यक परे थप सैन्य कदम चाल्न सकिने संकेत दिएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार इरानका सैन्य तथा पूर्वाधार संरचनालाई लक्षित गरेर व्यापक हवाई कारबाहीको योजना तयार पारिएको छ।
यता इरानले भने आफ्नो भूमिमाथि फेरि हमला भए कडा प्रतिकार गरिने चेतावनी दिएको छ। केही सातायता दुवै पक्षबीच प्रत्यक्ष सैन्य गतिविधि रोकिए पनि पछिल्ला अभिव्यक्तिले क्षेत्रीय तनाव फेरि बढ्न सक्ने संकेत देखिएको छ।