बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय वार्तापछि दुवै देशले संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ विश्व व्यवस्थाबारे साझा धारणा सार्वजनिक गरेका छन् ।
संयुक्त विज्ञप्तिमा चीन र रुसले समान र सन्तुलित बहुध्रुवीय विश्व निर्माणमा जोड दिएका छन् । साथै, न्यायपूर्ण र निष्पक्ष अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न विश्व समुदायलाई सहकार्य गर्न आह्वान गरिएको छ ।
दुवै देशले कुनै एक शक्तिको प्रभावमा आधारित विश्व व्यवस्थाभन्दा सबै राष्ट्रको समान सहभागितामा आधारित प्रणाली आवश्यक रहेको उल्लेख गरेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सन्तुलित, समावेशी र सहकार्यमा आधारित बनाउनुपर्ने धारणा राखेका छन् ।
विज्ञप्तिमा विश्व समुदायले अपनाउनुपर्ने केही आधारभूत सिद्धान्त पनि उल्लेख गरिएको छ । जसअनुसार सबै राष्ट्रले साझा हितका लागि सहकार्य गर्नुपर्ने, प्रत्येक देशको सुरक्षालाई समान महत्त्व दिनुपर्ने तथा विश्वव्यापी निर्णय प्रक्रियामा धेरै देशको सहभागिता सुनिश्चित गरिनुपर्ने जनाइएको छ ।
त्यस्तै, विभिन्न संस्कृति, मूल्य र राजनीतिक दृष्टिकोणको सम्मान गर्दै अन्तर्राष्ट्रिय सहकार्यलाई अगाडि बढाउनुपर्नेमा पनि चीन र रुस सहमत भएका छन् ।
दुई देशबीच व्यापार, प्रविधि र रणनीतिक क्षेत्रसँग सम्बन्धित २० भन्दा बढी सम्झौतामा हस्ताक्षर भएको जनाइएको छ ।
राष्ट्रपति सी चिनफिङले चीन र रुसले अझ न्यायपूर्ण र सन्तुलित विश्वव्यापी शासन प्रणाली निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । यता राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको उल्लेख गरेका छन् ।
पुटिन मंगलबार राति बेइजिङ पुगेका थिए । उनले बुधबार चीन भ्रमण सम्पन्न गरेका हुन् ।