माैसम पूर्वानुमान

गर्मीको चाप बढ्दै, तातो दिनको अवस्था

१३ घण्टा अगाडि
गर्मीको चाप बढ्दै, तातो दिनको अवस्था

काठमाडौँ । देशका अधिकांश क्षेत्रमा तापक्रम बढ्दै गएको छ। मौसमविद्हरूले विशेषगरी तराई-मधेस क्षेत्रमा आज उच्च गर्मीको अवस्था रहने चेतावनी दिएका छन् भने पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था रहनेछ। पछिल्ला दिनहरूमा वर्षा गराउने प्रणाली कमजोर बन्दै गएकाले तापक्रम क्रमशः बढिरहेको विभागको भनाइ छ।

दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। लुम्बिनी, सुदूरपश्चिम तथा अन्य केही पहाडी–हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

रातिको समयमा पनि कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्का अनुसार मनसुन अझै नेपाल भित्रिने अवस्था नरहेको र कम्तीमा एक सातासम्म प्रतीक्षा गर्नुपर्ने देखिएको छ। मनसुन जेठको अन्तिम सातातिर प्रवेश गर्न सक्ने अनुमान गरिएको छ।

बुधबार देशकै उच्च तापक्रम भैरहवा मा ४१ डिग्री सेल्सियस मापन गरिएको थियो। त्यस्तै नेपालगन्ज मा ३९.५, सिमरा र जनकपुर मा ३८.२ तथा धनगढी मा ३८.१ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो।

मौसमविद्हरूले अत्यधिक गर्मी हुने क्षेत्रका नागरिकलाई दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन, प्रशस्त पानी पिउन र स्वास्थ्यमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।