काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार केही साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, बाँके, बर्दिया र कैलाली तथा आसपासका जिल्लाका स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। वर्षा थपिएमा नदी तथा खोलामा पानीको सतह एक्कासि बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
त्यस्तै तामाकोसी, सुनकोसी, नारायणी, त्रिशूली, बूढीगण्डकी र मर्स्याङ्दीलगायत ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र बाढीसम्बन्धी पूर्वसूचनालाई बेवास्ता नगर्न आग्रह गरेको छ।