काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशभर साधारणतया बदली रहनेछ भने हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।
वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोसी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
राति पनि वर्षाको सम्भावना कायमै रहनेछ। कोसी र वाग्मती प्रदेशका पहाडी तथा तराई भूभाग र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।
रातिको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
मधेस तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।