अमेरिका-क्यानडा व्यापार विवाद चर्कियो, कार्नीले दिए 'डलर-फर-डलर' जवाफ

२० घण्टा अगाडि
अमेरिका-क्यानडा व्यापार विवाद चर्कियो, कार्नीले दिए 'डलर-फर-डलर' जवाफ

काठमाडौं । अमेरिका र क्यानडाबीचको व्यापार विवाद थप चर्किएको छ । दुई देशबीच व्यापार सम्झौता गर्ने अन्तिम प्रयास असफल भएपछि अमेरिकाले क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा ५० प्रतिशत नयाँ ट्यारिफ लागू गरेको छ ।

अमेरिकाको कदमपछि क्यानडाले पनि जवाफी कर लगाउने घोषणा गरेको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले शनिबार देशवासीलाई सम्बोधन गर्दै अमेरिकाले लगाएको ट्यारिफको ‘डलर–फर–डलर’ जवाफ दिने बताएका हुन् ।

क्यानडाले आगामी ८ सेप्टेम्बरदेखि जवाफी कर लागू गर्ने जनाएको छ ।

प्रधानमन्त्री कार्नीले अमेरिकाले क्यानडामाथि लगाएको नयाँ ट्यारिफलाई ‘ठूलो गलत आकलन’ भएको टिप्पणी गरेका छन् । उनका अनुसार अमेरिकाले वार्ताका क्रममा धेरै माग राखेको तर त्यसको बदलामा निकै कम प्रस्ताव गरेको थियो ।

अमेरिकाले लगाएको नयाँ कर क्यानडाबाट अमेरिकातर्फ हुने कुल आयातको करिब ५ प्रतिशतमा मात्रै लागू हुने बताइएको छ । तर, पछिल्लो कदमले दुई देशबीचको व्यापारिक सम्बन्धमा थप तनाव सिर्जना गरेको छ ।

कार्नीले पछिल्लो अवस्थालाई दुई देशबीच ‘व्यापार युद्धको अवस्था’ बनेको भन्दै क्यानडाले आफ्नो अर्थतन्त्र र राष्ट्रिय हितको रक्षा गर्न आवश्यक कदम चाल्ने बताएका छन् ।