काभ्रेमा बाढी र मौसम निगरानी प्रणाली विस्तार, नदी किनारमा नयाँ उपकरण जडान गरिँदै

२ घण्टा अगाडि
काभ्रेमा बाढी र मौसम निगरानी प्रणाली विस्तार, नदी किनारमा नयाँ उपकरण जडान गरिँदै

काभ्रे । वर्षायाममा हुन सक्ने बाढी तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न नदी तटीय क्षेत्रमा मौसम तथा बाढी मापन केन्द्र विस्तार गर्न थालिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुनकोशी र रोशी नदी आसपासका क्षेत्रमा थप उपकरण जडान गर्ने काम अघि बढाइएको छ। यसका लागि सम्बन्धित निकाय र स्थानीय समुदायसँग आवश्यक छलफलसमेत सम्पन्न भइसकेको छ।

हाल जिल्लाका सात स्थानमा मौसम मापन उपकरण र तीन स्थानमा बाढी मापन उपकरण सञ्चालनमा रहेका छन्। वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार धुलिखेल, खोपासी, नाला, पाँचखाल, मण्डनदेउपुर, दोलालघाट र पचुवारघाटमा मौसम मापन उपकरण जडान गरिएको छ।

त्यस्तै, सुनकोशी नदीअन्तर्गत दोलालघाट र पचुवारघाट तथा पनौती बजार नजिक बाढी मापन केन्द्र स्थापना गरिएको छ।

यसैबीच, रोशी गाउँपालिका–२ फलामेसाँघुमा मौसम मापन केन्द्र तथा पनौती र नमोबुद्ध नगरपालिकाको सीमास्थित रोशी खोला पुल र नेपालथोक नजिक बाढी मापन केन्द्र थप गर्ने तयारी भइरहेको विभागले जनाएको छ।

पनौतीस्थित गोरखनाथ मन्दिर नजिक परीक्षणका रूपमा बाढीको जोखिमबारे जानकारी दिने चेतावनी बत्तीसमेत जडान गरिएको छ। यसले स्थानीयवासीलाई समयमै सचेत गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।