काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले सुनसरीका विभिन्न गाउँबस्तीमा भएको द्वन्द्व र त्यसबाट उत्पन्न अशान्तिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपिल गरेका छन्।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बिहीबार जारी सन्देशमा उनले सुनसरी घटनाले जनधनको क्षति पुर्याउनुका साथै यसको प्रभाव कोशी क्षेत्र हुँदै तराईका अन्य जिल्लासम्म फैलिएकोप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधतायुक्त देश भएकाले यही विविधतामा रहेको एकता र सहिष्णुता नेपालको पहिचान भएको उल्लेख गर्दै उनले यसलाई कुनै पनि परिस्थितिमा कमजोर हुन दिन नहुने बताएका छन्।
पूर्वराजाले नेपालीहरू ऐतिहासिक रूपमा आपसी मेलमिलाप, प्रेम र सद्भावका साथ बस्दै आएको स्मरण गराउँदै कुनै पनि पक्षबाट सामाजिक एकतामा खलल पुग्ने गतिविधि हुन नहुनेमा जोड दिएका छन्।
उनले नेपालको धार्मिक, सांस्कृतिक तथा सामाजिक विशिष्टताले विश्वमा देशको पहिचान स्थापित गरेको उल्लेख गर्दै देशका जुनसुकै भूभागमा रहेका नेपालीहरूलाई मिलेर बस्न र राष्ट्रिय एकतालाई सुदृढ बनाउन आग्रह गरेका छन्।