काठमाडौंका अस्पतालमा २५ घाइतेको उपचार

५० मिनेट अगाडि
काठमाडौंका अस्पतालमा २५ घाइतेको उपचार

काठमाडौं । चीनतर्फबाट बुधबार बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा चार जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा एक जना र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २० जनाको उपचार भइरहेको छ।

ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका-५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने उपचाररत छन्। छाउनीस्थित सैनिक अस्पतालमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ।

शिक्षण अस्पतालमा नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, सल्यान, जाजरकोट, बर्दियालगायत जिल्लाका घाइते उपचाररत छन्। उपचाररत केहीको पहिचान तथा ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। गोरखा टिमुरे गोसाइँकुण्ड–७ का कामु नगरकोटीसँग तीन महिनाको नाबालकसमेत रहेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले थप घाइतेलाई काठमाडौं ल्याएर उपचार गराउने क्रम चलिरहेको प्रहरीले जनाएको छ।