काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले नदी आसपासका बस्तीमा मात्रै होइन, जलविद्युत् क्षेत्रमा समेत ठूलो असर पारेको छ। बाढीका कारण रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १४ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार रसुवामा मात्रै आठवटा आयोजना प्रभावित भएका छन्। तीमध्ये पाँच सञ्चालनमा रहेका छन् भने तीन आयोजना निर्माणाधीन अवस्थामा छन्। सञ्चालनमा रहेका आयोजनाको क्षमता २३६ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३४२.४२ मेगावाट रहेको छ।
रसुवामा प्रभावित आयोजनामा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा भोटेकोशी, साञ्जेन खोला, माथिल्लो मैलुङ ‘ए’, मैलुङ खोला, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजना छन्।
नुवाकोटतर्फ पनि बाढीले ६ वटा आयोजना प्रभावित पारेको छ। तीमध्ये चार सञ्चालनमा र दुई निर्माणाधीन छन्। सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता १२३ मेगावाट तथा निर्माणाधीन आयोजनाको क्षमता ५२.६ मेगावाट रहेको मन्त्रालयले जनाएको छ। प्रभावित आयोजनामा त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, मिडल त्रिशूली गंगा तथा २५ मेगावाटको सौर्य आयोजना छन्।
आयोजना क्षेत्रमा रहेका कर्मचारीको उद्धार चुनौती
बाढीका कारण केही आयोजना क्षेत्रमा रहेका कर्मचारी, मजदुर तथा स्थानीय बासिन्दा सम्पर्कविहीन भएपछि उनीहरूको अवस्था पहिचान र उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले उद्धारका लागि सातवटा सवारीसाधन प्रभावित क्षेत्रमा पठाएको छ। थप १४ वटा सवारीसाधन तयारी अवस्थामा राखिएको छ भने आवश्यक परे हवाई उद्धारका लागि समेत समन्वय भइरहेको छ।
उद्धार तथा समन्वयका लागि ऊर्जा मन्त्रालयका सहसचिवसमेत प्रभावित क्षेत्रमा खटिएका छन्। बाढीले आयोजनाका कुन-कुन संरचनामा कति क्षति पुर्यायो भन्नेबारे विस्तृत विवरण संकलन तथा प्राविधिक मूल्यांकनको काम भइरहेको छ।
विद्युत् सेवा जोगाउन प्राधिकरणको टोली परिचालन
बाढीका कारण विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको छ। प्रभावित संरचनाको अवस्था अध्ययन गरी सम्भव भएसम्म विद्युत् सेवा तत्काल पुनःस्थापना गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।
बाढी आउनुअघि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाएको थियो। तर बाढीबाट केन्द्रका गेज स्टेसनलगायत केही संरचनामै क्षति पुगेपछि थप जोखिमसम्बन्धी सूचना प्रवाहमा समेत समस्या आएको छ।
निजी आयोजनाको क्षति पनि खोजिँदै
मन्त्रालयले निजी जलविद्युत् आयोजनाको अवस्थाबारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)सँग समेत छलफल गरेको छ। निजी आयोजनामा भएको क्षति, प्रभावित कर्मचारी तथा मजदुरको अवस्था र पुनःस्थापनाका विषयमा जानकारी लिइएको मन्त्रालयले जनाएको छ।
निजी क्षेत्रका आयोजनाको क्षतिको विवरण पनि छिटो संकलन गरी पुनःस्थापनाका लागि आवश्यक समन्वय अघि बढाउने तयारी छ।
यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राखेर तत्काल काम अघि बढाउन निर्देशन दिएका छन्।
मन्त्री श्रेष्ठले विपद्मा परेका कर्मचारी, मजदुर तथा सर्वसाधारणको उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै गृह मन्त्रालयसहित सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक संयन्त्र तत्काल परिचालन गर्न निर्देशन दिएका छन्।
मन्त्रालयले बाढीबाट भएको समग्र क्षतिको मूल्यांकनका लागि योजना महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको छ। प्राविधिक मूल्यांकनबाट क्षतिको यथार्थ विवरण आएपछि प्रभावित आयोजनाको पुनःस्थापनाका लागि आवश्यक कार्ययोजना अघि बढाइने मन्त्रालयले जनाएको छ।