भोटेकोशी बाढी : २९ जनाको उद्धार, ८ हेलिकोप्टरबाट खोजी तीव्र

एक घण्टा अगाडि
भोटेकोशी बाढी : २९ जनाको उद्धार, ८ हेलिकोप्टरबाट खोजी तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र पारिएको छ। नेपाली सेनाले बाढी प्रभावितको उद्धारका लागि ८ वटा हेलिकोप्टर परिचालन गरेको छ।

सेनाका अनुसार हाल ६ वटा हेलिकोप्टर उद्धारमा खटिएका छन् भने थप दुईवटा हेलिकोप्टर प्रभावित क्षेत्रतर्फ पठाउने क्रममा छन्। हालसम्म २९ जनाको हवाई उद्धार गरिएको छ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन प्रभावित क्षेत्रमा तीनवटा ड्रोनसमेत परिचालन गरिएको छ। बाढीका कारण टिमुरे, स्याफ्रुबेँसीलगायत भोटेकोशी नदी तथा खोला किनारका क्षेत्रमा क्षति पुगेको छ।

नेपाली सेनाले धुन्चे र त्रिशूलीस्थित ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ। त्यस्तै, गजुरीस्थित नं. ६ बाहिनी अड्डाबाट विपद् व्यवस्थापनमा दक्ष जनशक्ति पनि घटनास्थलतर्फ खटाइएको छ।

सम्भावित घाइतेको उपचार तथा उद्धारमा सहयोग पुर्‍याउन त्रिशूलीस्थित जिल्ला अस्पतालमा एमआई–१७ हेलिकोप्टरसहितको टोली परिचालन गरिएको सेनाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहँदा क्षतिको विस्तृत विवरणसमेत संकलन भइरहेको नेपाली सेनाले जनाएको छ।