तिब्बतमा गएको हिमपहिरोले भोटेकोशीमा अचानक भीषण बाढी कसरी आयो ?

एक घण्टा अगाडि
तिब्बतमा गएको हिमपहिरोले भोटेकोशीमा अचानक भीषण बाढी कसरी आयो ?

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि आएको भीषण बाढीले आसपासका क्षेत्रमा त्रास फैलाएको छ । बाढीको कारणबारे गरिएको प्रारम्भिक अनुसन्धानमा तिब्बत क्षेत्रमा गएको हिमपहिरोलाई मुख्य कारणका रूपमा औँल्याइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चीनतर्फ तिब्बत क्षेत्रमा हिमपहिरो खसेपछि त्यसको प्रभावस्वरूप भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

प्राधिकरणकी उपसचिव एवं प्रवक्ता शान्ति महतले चीनबाट अनौपचारिक रूपमा यस्तो जानकारी आएको र घटनाको वास्तविक कारणबारे थप अध्ययन भइरहेको बताएकी छन् । तिब्बत क्षेत्रमा रहेका प्राविधिकहरूको प्रारम्भिक अध्ययनले हिमपहिरोलाई बाढीको मुख्य कारण देखाएको उनले जानकारी दिइन् ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले पनि प्रारम्भिक अध्ययनमा तिब्बतमा गएको हिमपहिरोकै कारण भोटेकोशीमा बाढी आएको देखिएको बताएका छन् । यद्यपि, यसको विस्तृत पुष्टि हुन बाँकी रहेको उनको भनाइ छ ।

चीनमा रहेका विभागका कर्मचारी तथा अन्य प्राविधिक टोलीमार्फत घटनाबारे थप विवरण संकलन भइरहेको छ । कूटनीतिक र प्राविधिक माध्यमबाट समेत बाढीको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको विभागले जनाएको छ ।

अचानक कसरी बढ्यो नदीको बहाव ?

तिब्बतको हिमाली क्षेत्रमा हिमपहिरो जाँदा ठूलो परिमाणमा हिउँ, चट्टान र माटो तलतिर खस्न सक्छ । यस्तो घटनाले नदीको प्राकृतिक बहावमा अचानक परिवर्तन ल्याउनुका साथै नदीमा ठूलो परिमाणमा पानी तथा हिममिश्रित पदार्थ मिसिन सक्छ । त्यसको प्रभाव सीमावर्ती क्षेत्रमा रहेको भोटेकोशीमा पनि अचानक देखिन सक्ने विज्ञहरूको प्रारम्भिक आकलन छ ।

हिमपहिरोका कारण नदीमा एक्कासि ठूलो परिमाणमा पानी वा हिममिश्रित पदार्थ मिसिँदा केही समयमै नदीको बहाव असामान्य रूपमा बढ्न सक्ने अवस्था रहन्छ । यही कारणले भोटेकोशीमा पनि सामान्य अवस्थाभन्दा निकै तीव्र गतिमा पानीको सतह बढेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यद्यपि, भोटेकोशीमा आएको बाढीको वास्तविक प्रकृति, हिमपहिरोको स्थान, त्यसले नदीमा पारेको प्रभाव र बाढीको मात्रा भने विस्तृत प्राविधिक अध्ययनपछि मात्रै स्पष्ट हुने देखिन्छ ।

अहिले नेपालका सम्बन्धित निकायले चीनतर्फबाट थप विवरण प्राप्त गर्ने तथा प्राविधिक अध्ययनमार्फत बाढीको कारण पुष्टि गर्ने काम अघि बढाएका छन् । बाढीको वास्तविक कारण र जोखिमको अवस्था यकिन गर्न नेपाल र चीनतर्फका प्राविधिक सूचनालाई थप विश्लेषण गरिने सम्बन्धित निकायले जनाएको छ ।