काठमाडौं । उज्बेकिस्तानको चिकित्सा शिक्षा क्षेत्रमा नेपाली युवा चिकित्सक डा. किशन भण्डारीले महत्वपूर्ण सफलता हासिल गरेका छन्। बुखारास्थित एसिया इन्टरनेसनल युनिभर्सिटीले चिकित्सा, सूचना प्रविधि, व्यापार तथा व्यवस्थापनलगायतका शैक्षिक कार्यक्रमको डिनका रूपमा कार्यरत डा. भण्डारीलाई भाइस-रेक्टरमा बढुवा गरेको हो।
काठमाडौंको बौद्ध निवासी डा. भण्डारीले नेपालमा कक्षा १२ पूरा गरेपछि सन् २००९ मा रुसमा चिकित्साशास्त्र अध्ययनका लागि छात्रवृत्ति पाएका थिए। एमबीबीएस पूरा गरेपछि थप अध्ययनका लागि उनी किर्गिस्तान पुगे। त्यहाँको स्टेट मेडिकल इन्स्टिच्युटबाट न्युरोसर्जरी र जनस्वास्थ्यमा स्नातकोत्तर उपाधि हासिल गरेका उनले सोही संस्थामा व्यावसायिक जिम्मेवारीसमेत सम्हाले।
विदेशी विश्वविद्यालयबाट अध्ययन पूरा गरेका व्यक्तिका लागि दुर्लभ मानिने सहायक डिनको जिम्मेवारीसमेत उनले किर्गिस्तानको स्टेट मेडिकल इन्स्टिच्युटमा सम्हालेका थिए। उनी गैरआवासीय नेपाली संघ किर्गिस्तानका संस्थापक अध्यक्षसमेत हुन्।
करिब दुई वर्षअघि उज्बेकिस्तानमा शैक्षिक गुणस्तर र अस्पतालमा आधारित एकीकृत शिक्षालाई दिइएको प्राथमिकताबाट प्रभावित भएर डा. भण्डारीले एसिया इन्टरनेसनल युनिभर्सिटीमा चिकित्साशास्त्र अध्यापनको जिम्मेवारी स्वीकार गरेका थिए। दुई वर्षदेखि डिनको जिम्मेवारी सम्हाल्दै आएका उनी अब भाइस–रेक्टर बनेका हुन्।
एसिया इन्टरनेसनल युनिभर्सिटीमा करिब ९० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् भने नेपालसहित १४ देशका ३३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
डा. भण्डारीको पहलमा गत वर्षदेखि नेपालबाट दुई उत्कृष्ट विद्यार्थी छनोट गरी उज्बेकिस्तानमा चिकित्साशास्त्र अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था पनि सुरु भएको छ।
नयाँ जिम्मेवारीलाई आफू मात्र नभई समग्र नेपाल र नेपालीका लागि सम्मानका रूपमा लिएको डा. भण्डारीले बताएका छन्। उनले भविष्यमा नेपाल फर्किएर चिकित्सा शिक्षा क्षेत्रमा योगदान पुर्याउने योजना रहेको बताएका छन्। साथै, उनले उज्बेकिस्तानमा रहेका अवसर र शैक्षिक कार्यक्रमलाई नेपालसँग जोड्ने प्रयाससमेत निरन्तर गर्दै आएका छन्।
उज्बेकिस्तानको चिकित्सा शिक्षा क्षेत्रमा डा. भण्डारीले हासिल गरेको जिम्मेवारीले अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा नेपाली युवाको क्षमता र नेतृत्वको सम्भावनालाई समे
त उजागर गरेको छ।