भोटेकोशी बाढी

भोटेकोसी बाढीबारे संसद्लाई सरकारको जानकारी, हिमपहिरोपछि बाढी आएको हुनसक्ने

एक घण्टा अगाडि
भोटेकोसी बाढीबारे संसद्लाई सरकारको जानकारी, हिमपहिरोपछि बाढी आएको हुनसक्ने

काठमाडौं । सरकारले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट भएको क्षति, उद्धारको अवस्था र घटनाको सम्भावित कारणबारे प्रतिनिधिसभालाई जानकारी गराएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले प्रारम्भिक विवरण प्रस्तुत गर्दै चीनको सीमावर्ती क्षेत्रबाट नेपालतर्फ अचानक बाढी प्रवेश गरेको बताएका छन्।

मन्त्री खनालका अनुसार बिहान ८ बजेर ३७ मिनेटमा भूकम्प गएको थियो। त्यसको करिब तीन मिनेटपछि अर्थात् ८ बजेर ४० मिनेटमा चीनतर्फबाट बाढी नेपाल प्रवेश गरेको प्रारम्भिक जानकारी सरकारलाई प्राप्त भएको उनले बताए।

तिब्बत क्षेत्रमा गएको भूकम्पपछि हिमपहिरो खसेको र त्यसकै कारण भोटेकोसीमा ठूलो बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको मन्त्री खनालले जानकारी दिए। घटनाको यकिन कारणबारे थप विवरण संकलन भइरहेको उनले बताए।

टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति

अचानक आएको बाढीबाट रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुगेको मन्त्री खनालले संसद्लाई जानकारी दिए।

त्यस्तै नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टारलगायत क्षेत्रसमेत बाढीबाट प्रभावित भएको उनले बताए। बाढीका कारण भौतिक संरचना तथा जनजीवनमा ठूलो असर परेको र प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको सरकारको भनाइ छ।

९ शव फेला, पहिचान खुल्न बाँकी

भोटेकोसी बाढीमा परी हालसम्म ९ जनाको मृत्यु भएको र उनीहरूको शव फेला परेको मन्त्री खनालले जानकारी दिए।

उद्धार टोलीले प्रभावित क्षेत्रबाट ९ वटा शव संकलन गरेको भए पनि हालसम्म सबै शवको सनाखत हुन नसकेको उनले बताए।

‘बाढी प्रभावित क्षेत्रमा हालसम्म ९ जनाको शव फेला परेको छ, तर उनीहरूको पहिचान खुल्न सकेको छैन। सनाखतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ,’ मन्त्री खनालले संसद्मा भने।

सरकारले प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, घाइतेको उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको जनाएको छ। साथै बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने कामसमेत भइरहेको मन्त्री खनालले बताए।