काठमाडौं । चीनको सीमावर्ती क्षेत्रमा आएको बाढीले नेपालतर्फ समेत ठूलो क्षति पुर्याएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले जोखिममा रहेका नागरिकको उद्धारसँगै नेपालसँग समन्वय गरेर विपद् व्यवस्थापन अघि बढाउनसमेत जोड दिएका छन्।
राष्ट्रपति सीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, जोखिममा परेकालाई सुरक्षित स्थानमा स्थानान्तरण र घाइतेको तत्काल उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन्।
उनले बाढीको अनुगमन तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन, वैज्ञानिक ढंगबाट उद्धार कार्य सञ्चालन गर्न र बाढीपछि हुनसक्ने दोस्रो विपद्बाट थप क्षति हुन नदिन आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
‘हामी अहिले बाढी रोकथामका लागि महत्वपूर्ण समयमा छौँ। सबै क्षेत्र र सम्बन्धित विभागहरूले बाढी तथा आँधीबेहरी रोकथामका सबै उपाय इमानदारीपूर्वक लागू गर्नुपर्छ,’ सीको निर्देशन उद्धृत गर्दै चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले जनाएको छ।
सीले जोखिम तथा लुकेका खतराको पहिचान गरी तत्काल न्यूनीकरण गर्न र जनताको जीवन तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न पनि निर्देशन दिएका छन्।
यसैगरी, चिनियाँ प्रधानमन्त्री ली छियाङले पनि विपद्बाट प्रभावित तथा बेपत्ता व्यक्तिको विवरण तत्काल यकिन गर्न, उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति परिचालन गर्न र जोखिममा रहेका मानिसलाई व्यवस्थित रूपमा सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन्।
नेपालतर्फ भोटेकोशी बाढीले ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री लीले विदेश मन्त्रालयलाई नेपालसँग सञ्चार तथा समन्वय सुदृढ गर्न निर्देशन दिएका छन्। उनले घटनाको अवस्थाबारे तत्काल जानकारी आदानप्रदान गर्दै उद्धार तथा राहत कार्यमा आवश्यक समन्वय गर्न भनेका छन्।
यसैबीच, चिनियाँ विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको जनाइएको छ। बाढीबाट नेपालतर्फ भएको क्षति तथा उद्धारको अवस्थाबारे दुवै देशका सम्बन्धित निकायबीच सम्पर्क र सूचना आदानप्रदान भइरहेको छ।
चिनियाँ नेतृत्वको निर्देशनपछि उपप्रधानमन्त्री झाङ गुओकिङले उद्धार तथा राहत कार्यको समन्वय र अनुगमनका लागि सम्बन्धित विभागका अधिकारीलाई घटनास्थलतर्फ परिचालन गरेका छन्। चीनले आफ्नै सीमावर्ती क्षेत्रमा बाढीको अवस्थासँगै नेपालतर्फ परेको प्रभावलाई समेत ध्यानमा राखेर उद्धार तथा राहत प्रयास अघि बढाएको देखिएको छ।