काठमाडौं । रसुवामा भदौ १० गते बिहान आएको अचानकको बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म १२ जनाको उद्धार गरिएको छ।
नेपाली सेनाका अनुसार सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो। उद्धारका लागि नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ वटा हेलिकोप्टर परिचालन भइरहेका छन्।
बिहान करिब ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायत खोला तटीय क्षेत्रमा क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको सेनाले जनाएको छ। खोज तथा उद्धारका लागि नेपाली सेनाका दुई हेलिकोप्टर त्रिशूली पुगेका छन् भने त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग गर्न एमआई–१७ हेलिकोप्टरसहित आकस्मिक चिकित्सकीय उद्धार टोली परिचालन गरिएको छ।
धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा खटिएका छन्। गजुरीस्थित नं. ६ बाहिनी अड्डाबाट विपद् व्यवस्थापनमा दक्ष जनशक्तिसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ। बाढीबाट भएको क्षतिको विवरण संकलन गर्ने कामसमेत भइरहेको सेनाले जनाएको छ।
बाढीका कारण त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै सेनाले नदी आसपास बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। प्रभावितहरूको उद्धार तथा राहतमा आवश्यक सहकार्य गर्नसमेत सेनाले अनुरोध गरेको छ।