जलविद्युत् कम्पनीको सेयरमा भारी गिरावट

५१ मिनेट अगाडि
जलविद्युत् कम्पनीको सेयरमा भारी गिरावट

काठमाडौं । रसुवाको भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको दिन त्यसको प्रभाव सेयर बजारमा समेत देखिएको छ। बुधबार नेप्से परिसूचक करिब ३६ अंकले घटेर २ हजार ५ सय ५८ दशमलव ३५ विन्दुमा झरेको छ।

बाढीबाट ७ सय ५० मेगावाटभन्दा बढी क्षमताका विभिन्न जलविद्युत् आयोजना प्रभावित भएको विवरण सार्वजनिक भइरहेका बेला जलविद्युत् समूहको सूचक २ दशमलव ८४ प्रतिशतले घटेको छ।

बुधबार कुल ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कारोबार भएका मध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २५२ कम्पनीको घटेको छ भने तीन कम्पनीको मूल्य स्थिर रह्यो।

बाढी प्रभावित जलविद्युत् कम्पनीमध्ये रसुवागढी हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। मैलुङ खोला जलविद्युत्को सेयर १४ दशमलव ९९ प्रतिशत, त्रिशूली जलविद्युत् कम्पनीको १२ दशमलव ९५ प्रतिशत, माथिल्लो मैलुङ खोलाको ११ दशमलव ५६ प्रतिशत र साञ्जेन जलविद्युत् कम्पनीको ११ दशमलव १८ प्रतिशतले घटेको छ।

बाढी प्रभावित आयोजनामध्ये चिलिमे हाइड्रोपावरको सेयरमा सबैभन्दा बढी कारोबार भएको छ। बुधबार चिलिमेको करिब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

समग्र बजार घटे पनि सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयरमा सकारात्मक सर्किट लागेको छ भने अपर हेवा खोला हाइड्रोपावरको सेयर १० दशमलव ४३ प्रतिशतले बढेको छ। बाँकी बढ्ने कम्पनीका सेयर मूल्य ६ प्रतिशतसम्म वृद्धि भएका छन्।